नेपालमा पहिलोपटक आयोजना हुन लागेको व्यावसायिक मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर १’ असोज २४ गते काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) मा हुने भएको छ।

फ्रोथ फ्युजनको आयोजनामा हुने प्रतियोगितामा देशभरका २२ जना खेलाडीबीच ११ वटा मुवाथाई भिडन्त हुनेछन्। मुख्य प्रतिस्पर्धामा सुष्मा चौधरी र रजिना विष्ट भिड्नेछन्।

मुख्य भिडन्तका विजेताले १ लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछन्। अन्य प्रो–फाइटका विजेतालाई ५० हजारदेखि ४० हजारसम्म तथा सेमी–प्रो फाइटका विजेतालाई २० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

फ्रोथ फ्युजनका प्रबन्ध निर्देशक रोशन सुवेदीले नेपाली मुवाथाई खेलाडीको क्षमता र अनुशासनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

प्रतियोगिता दिउँसो १२ बजेदेखि दर्शकका लागि खुला हुनेछ। टिकटको मूल्य १ हजार तोकिएको छ ।