बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले पश्चिम नेपालमा वर्षा बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिममा रहेका २५ जिल्लामा दुई दिन यातायात सञ्चालन नगर्न आग्रह गरेको छ।
प्राधिकरणले शुक्रबार साँझ जारी गरेको सूचनाअनुसार शुक्रबार र शनिबार कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा अत्यधिक वर्षाको सम्भावना छ। ती जिल्लालाई रातो रङले सङ्केत गरी यातायात सञ्चालनमा रोक लगाइएको जनाइएको छ।
उच्च जोखिममा रहेका जिल्लामा सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत छन्। त्यस्तै, लुम्बिनीका प्युठान, दाङ, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकीका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङ्जा उच्च जोखिममा छन्।
प्राधिकरणले अन्य ३० जिल्लामा पनि धेरै वर्षाको सम्भावना रहेको भन्दै रातको समयमा यातायात सञ्चालन नगर्न निर्देशन दिएको छ। सुन्तला रङले सङ्केत गरिएका यी जिल्लामा दिउँसो यातायात सञ्चालन गर्ने वा नगर्ने निर्णय स्थानीय मौसम र सडकको अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टले गर्नेछ।
बाँकी २२ जिल्लामा तुलनात्मक रूपमा कम वर्षाको सम्भावना रहे पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। ती जिल्लामा कोशी र मधेश प्रदेशका जिल्लासँगै बागमतीका मकवानपुर र सिन्धुलीसमेत छन्।
यात्रु र सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह
लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, तराईमा डुबान तथा नदी र खोलामा आकस्मिक बाढी आउने जोखिम रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरिएको छ। नेपाल प्रहरीले पनि विभिन्न जोखिमयुक्त राजमार्गमा अत्यावश्यकबाहेक रात्रिकालीन आवागमनमा रोक लगाएको जनाएको छ।
यात्रा गर्नैपर्ने अवस्थामा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरीबाट सडकको पछिल्लो अवस्था बुझेर मात्रै निस्कन, बाढी आएको खोला पार नगर्न तथा पहिरोको जोखिम रहेका सडकखण्डमा सवारी नरोक्न सुझाव दिइएको छ।

प्रतिक्रिया