नेपाली कांग्रेसको १५ औं महाधिवेशन प्रक्रिया सुरु भएसँगै सुनसरीमा जिल्लाका अधिकांश प्रभावशाली नेताहरू पार्टी सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षमा गोलबन्द भएका छन्।
पूर्वमहामन्त्री डा. शशांक कोइराला संयोजक रहेको इतर पक्षीय महाधिवेशन तयारी समितिको पक्षमा नेता विजयकुमार गच्छदार र लक्ष्मी खतिवडा मात्र सीमित बनेका छन्।
जिल्लाका अन्य सबै शीर्ष नेता तथा कार्यकर्ताहरू थापाको पक्षमा उभिएपछि सुनसरीका १२ मध्ये सातवटा स्थानीय तहमा नयाँ नेतृत्व चयन भइसकेको छ भने बाँकी पाँच पालिकामा प्रक्रिया जारी छ।
नेता गच्छदारको आफ्नै गृहनगर दुहबी नगरपालिकामा समेत उनको पकड कमजोर देखिएको छ। गच्छदारका भतिजा एवम् दुहबीका मेयर वेद गच्छदारकै विशेष पहलमा तारिकचन्द्र सरदारको नेतृत्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत चयन भएको छ।
समितिको उपसभापतिमा पिन्की रौनियार र घनश्याम हलुवाई, सचिवमा अब्दुल हसिब तथा सहसचिवमा रन्जन खतिवडासहित ३४ सदस्यीय नगर समिति निर्विरोध बनेको हो।
गच्छदारका भतिजा वेदसहित आफन्त सुनिता गच्छदार र बर्जु गाउँपालिकाका पूर्वसभापति कृष्ण संग्रौलालगायतका निकटस्थहरू संस्थापन पक्षमा खुलेर लागेका छन्।
जिल्ला सभापति केदार भण्डारीका अनुसार विजय गच्छदार र लक्ष्मी खतिवडाबाहेक सुनसरीका सबैजसो चिनिएका नेताहरूले सभापति थापाको नेतृत्वलाई साथ दिएका छन्।
यसअघि १४ औं महाधिवेशनमा तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहबीच तीव्र प्रतिस्पर्धा भएको सुनसरीमा यसपटक भने समीकरण फेरिएको छ।
सबै पक्ष एकै ठाउँमा उभिएपछि जिल्लाका दुई प्रमुख सहर धरान र इटहरीमा सर्वसम्मत नेतृत्व चयन भएको छ। इटहरी उपमहानगरपालिकामा बालकृष्ण विष्टसँगको सहमतिपछि विकास केसीको नेतृत्वमा सिङ्गो कार्यसमिति निर्विरोध बनेको छ।
उता धरान उपमहानगरपालिकामा नरेन्द्रकुमार राई (प्रवीण) को नेतृत्वमा ३७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भई बुधबार पदभार ग्रहणसमेत गरिसकेको छ।
धरानमा उपसभापतिमा हिमाल श्रेष्ठ, महिला उपसभापतिमा शिला बज्राचार्य, सचिवमा सागर प्रसाई र कोषाध्यक्षमा शिखा चेम्जोङ लिम्बु चयन भएका छन्।
बराहक्षेत्र नगरपालिकामा भने निर्वाचनमार्फत रोशन खड्का सभापतिमा विजयी भएका छन्। उनले तेजबहादुर गुरुङलाई पराजित गरेका हुन्। बराहक्षेत्रमा उपसभापतिमा दिनेश राई र मैयाँ आचार्य (मञ्जु), सचिवमा युवराज भट्टराई तथा सहसचिवमा सुसना घिमिरे निर्विरोध चयन भए।
रामधुनी नगरपालिकामा पनि निर्वाचनबाटै लेखनाथ (भोला) बास्तोला नगर सभापति बनेका छन्। त्यहाँ उपसभापतिमा किरण चापागाई, महिला उपसभापतिमा श्रृजना भट्टराई, सचिवमा दोस्तीराम चौधरी र सहसचिवमा शम्भु बस्नेत निर्वाचित भएका छन्।
कोशी गाउँपालिकामा निर्वाचनमार्फत जमाजुदिन अन्सारी सभापति चुनिएका छन् भने बर्जु गाउँपालिकामा मनोजकुमार गच्छदारको नेतृत्वमा सर्वसम्मत समिति बनेको छ।
जिल्ला सदरमुकाम इनरुवा नगरपालिकामा अन्य पदहरूमा सहमति जुटे पनि सभापति र सचिव पदमा भने निर्वाचन हुने भएको छ। इनरुवाको सभापतिमा खेम थापा, योगेन्द्र मेहता र रोशन खड्काबीच त्रिपक्षीय भिडन्त हुँदैछ भने सचिवमा सत्य यादव र सन्तोष शर्मा चुनावी मैदानमा छन्।
बाँकी रहेका भोक्राहा-नरसिंह, गढी, देवानगञ्ज र हरिनगर गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी छ।
यसैबीच, महाधिवेशन प्रक्रियाअन्तर्गत नेताहरू राजीव कोइराला, राजीव ढुंगाना, नवोदिता चौधरी, गोमा पराजुली र दिलकुमारी राई सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।
इतर पक्ष छाडेर संस्थापनमा समाहित भएका केन्द्रीय सदस्यद्वय मीन विश्वकर्मा र ज्ञानेन्द्रबहादुर कार्की पनि सर्वसम्मत क्षेत्रीय प्रतिनिधि बनेका छन्।
त्यसैगरी कोशी प्रदेशका महामन्त्री उमेश थापा, जिल्ला सभापति केदार भण्डारी, पूर्वराज्यमन्त्री सीताराम मेहता, सञ्जय श्रेष्ठ, इटहरीका मेयर हेमकर्ण पौडेल र पूर्वकेन्द्रीय सदस्य मीना सुब्बालगायतका नेताहरू पनि सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि चुनिएका छन्।

प्रतिक्रिया