चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकाको एटलान्टास्थित चिडियाखानामा दुई वटा पाण्डा पठाउने घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भएको भेटमा सीले केही दिनमै पिङ पिङ र फु शुआङ नामका दुई पाण्डा एटलान्टा पुग्ने बताएका हुन्। उनले पाण्डालाई अमेरिका-चीन जनताबिचको मित्रताको दूतका रूपमा प्रस्तुत गरे।

ट्रम्प र सीले अमेरिका-चीन सम्बन्धलाई स्थिर र सहकार्यमा आधारित बनाउनुपर्नेमा जोड दिए। दुवै नेताले व्यापार, कृत्रिम बौद्धिकता (एआई), सुरक्षा, प्रविधि, सैन्य संवाद र दुई देशका जनताबिचको सम्बन्धलगायत विषयमा आफ्ना धारणा राखेका हुन्।

ट्रम्पले सीसँगको आफ्नो सम्बन्धलाई ‘महान् मित्रता’का रूपमा वर्णन गरे। सन् २०१६ देखि आफू र सीबिच सम्बन्ध रहेको बताउँदै उनले जर्मनी, अर्जेन्टिना, जापान, दक्षिण कोरिया, बेइजिङ र फ्लोरिडालगायत ठाउँमा भेटघाट भएको उल्लेख गरे। ह्वाइट हाउसमा भने पहिलो पटक सँगै भेट भएको उनको भनाइ थियो।

ट्रम्पले अमेरिका र चीनले साझा हितका विषयमा मिलेर काम गर्न सक्ने बताए। व्यापार, सुरक्षा, प्रविधि र ‘सुपर इन्टेलिजेन्स’ अर्थात् अत्याधुनिक एआईसँग सम्बन्धित विषयमा अहिले गरिने निर्णयले आगामी दशकसम्म प्रभाव पार्न सक्ने उनले बताए। अमेरिकी किसान र व्यवसायीका लागि चिनियाँ बजारमा पहुँच बढाउने विषयमा पनि उनले जोड दिए।

सीले अमेरिका र चीन दुवै ठुला देश भएकाले विश्वको विकास र प्रगतिमा महत्त्वपूर्ण जिम्मेवारी रहेको उनको भनाइ थियो। दुई देशका अवस्था फरक भए पनि स्पष्ट, गहिरो र निरन्तर संवादमार्फत एक अर्कालाई बुझ्न, साझा विषयमा सहकार्य गर्न र विश्वास बढाउन सकिने उनको उनले जनाए। सीले ट्रम्पसँग पारस्परिक सम्मान र व्यक्तिगत सम्बन्ध कायम रहेको पनि उल्लेख गरेका थिए।

सम्बोधनमा एआईबारे सीले विशेष जोड दिए। अमेरिका र चीन दुवै एआई विकासका प्रमुख देश भएकाले यसको विकास र व्यवस्थापन जिम्मेवारीपूर्वक गर्नुपर्नेमा उनको जोड थियो। उनले एआईको विकास मानिसकै नियन्त्रणमा रहनुपर्ने र यसबाट जनताको हित हुनुपर्ने बताए। लागूऔषध नियन्त्रण तथा कानुन कार्यान्वयनमा पनि अमेरिका-चीन सहकार्य बढाउन चीन तयार रहेको उनले स्पष्ट पारेका छन्।

सीले अमेरिका र चीनबिच प्रतिस्पर्धा हुन सक्ने भए पनि त्यो स्वस्थ र सीमाभित्रको हुनुपर्ने बताए। दुई देशले द्वन्द्व र टकरावबाट जोगिँदै सहकार्यमा जोड दिनुपर्ने उनको भनाइ थियो। उनका अनुसार दुई देशबिचको सहकार्यबाट दुवै पक्षले लाभ लिन सक्छन् भने टकरावबाट दुवैलाई क्षति हुन्छ।

दुई देशका सेनाबिच नियमित संवाद कायम राख्नुपर्नेमा पनि सीले जोड दिए। संकटका बेला गलत बुझाइ र तनाव बढ्न नदिन संकट व्यवस्थापन तथा आपतकालीन सम्पर्कका संयन्त्रलाई थप बलियो बनाउनुपर्ने उनले बताए। अमेरिका र चीनबिचको प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुन नदिन दुवै पक्षले संयम अपनाउनुपर्ने उनको भनाइ थियो।

सीले चीनको बजार अमेरिकी कम्पनीका लागि खुला रहेको भन्दै अमेरिकामा चिनियाँ कम्पनीलाई पनि निष्पक्ष व्यवहार गरिनुपर्नेमा जोड दिए। दुई देशले सहकार्यका विषय बढाउँदै विवादका विषय घटाउनुपर्ने उनको भनाइ छ। साथै, दुई देशबिचको आवतजावत र व्यापार सहज बनाउन प्रत्यक्ष हवाई उडान बढाउन सकिने प्रस्ताव पनि उनले अघि सारे।

सो अवसरमा उनले दुई देशका जनताबिचको सम्बन्ध बढाउने भन्दै आगामी पाँच वर्षमा एक लाख अमेरिकी युवालाई चीन भ्रमण तथा अध्ययनका लागि निम्तो दिने घोषणा पनि गरे। उनले अमेरिका-चीन सम्बन्धको भविष्य दुई देशका जनतासँग जोडिएको र त्यसमा युवाको महत्त्वपूर्ण भूमिका रहेको बताए।

ट्रम्पले दोस्रो विश्वयुद्धका क्रममा अमेरिका र चीनले मिलेर लडेको इतिहास पनि सम्झिएका थिए। साझा हितका लागि विगतमा दुई देशले गरेको सहकार्यलाई उदाहरण दिँदै उनले अहिले पनि मिलेर काम गर्न सकिने बताए। उनले अमेरिका र चीनबिच साझा हितमा केन्द्रित भएर काम गरे धेरै उपलब्धि हासिल गर्न सकिने बताए।

सीले पनि अमेरिका-चीन सम्बन्धलाई ‘रणनीतिक स्थिरता’तर्फ लैजान ट्रम्पसँग मिलेर काम गर्ने बताए। उनका अनुसार दुई देशले निरन्तर संवाद, पारस्परिक सम्मान र इमानदार सहकार्यलाई प्राथमिकता दिनुपर्छ। उनले अमेरिका र चीनबिच शान्तिपूर्ण सहअस्तित्व कायम गर्न सकिने र दुवै देशले द्वन्द्वबाट जोगिनुपर्नेमा जोड दिए।

सीको यो भ्रमण एक दशकभन्दा बढी समयपछि भएको ह्वाइट हाउस भ्रमण हो। भ्रमणका क्रममा दुई नेताबिच अमेरिका-चीन सम्बन्धका संवेदनशील विषयमा प्रत्यक्ष संवाद भएको छ।