अत्यधिक वर्षा र सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै कपिलवस्तु जिल्लाका सातवटा स्थानीय तहले दुई दिन शिक्षण संस्थाहरूमा बिदा दिएका छन्।

बाढी, डुबान तथा सम्भावित विपद्बाट हुनसक्ने क्षति रोक्न ती पालिकाहरूले असोज ८ र ९ गते आफ्ना क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेका हुन्।

जिल्लाको कपिलवस्तु, बुद्धभूमि, महाराजगन्ज, बाणगंगा र शिवराज नगरपालिका तथा यशोधरा र शुद्धोधन गाउँपालिकाले विद्यालयहरूमा बिदा दिएका हुन्।

सम्बन्धित पालिकाहरूले छुट्टाछुट्टै सूचना जारी गर्दै तोकिएको अवधिभर सबै विद्यालयको नियमित पठनपाठन पूर्ण रूपमा स्थगित रहने जनाएका छन्।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त पूर्वसूचनाअनुसार जिल्लाभर अत्यधिक वर्षा भई बाढीपहिरोको जोखिम बढ्न सक्ने देखिएकाले यस्तो कदम चालिएको हो।

स्थानीय तहहरूले शिक्षा तथा खेलकुद मन्त्रालयको असोज ७ गतेको परिपत्रअनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए।

पठनपाठन स्थगित गरिए पनि विपद् प्रतिकार्यलाई ध्यानमा राख्दै विद्यालयहरूलाई सम्भावित जोखिमको पूर्वतयारी, स्थानीय तहसँगको समन्वय तथा आवश्यक आपत्कालीन सहजीकरणमा सक्रिय रहन पालिकाहरूले अनुरोध गरेका छन्।