देशै भरी भारी वर्षा भइरहेको अवस्थामा सरकारले घरबाट बाहिर ननिस्कन भनिरहेको बेला वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले छात्रावासमा बसेका स्नातकोत्तर आवासीय चिकित्सकहरूलाई निकाल्ने प्रक्रिया थालेको छ।

शिक्षण अस्पतालले छात्रावासमा बसेका प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूलाई छात्रावास छाड्न १२ घण्टे अल्टिमेटम दिएको छ।

कलेजले बिहीबार सूचना जारी गर्दै कलेजबाट उपलब्ध गराइएको छात्रावास, क्वार्टर वा अन्य आवासीय सुविधा खाली गर्न निर्देशन दिएको हो।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिभुवन विश्वविद्यालयलाई पत्र लेखिसकेको उल्लेख गर्दै कलेजले भनेको छ, ‘सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूलाई यो सूचना जारी भएको समयदेखि १२ घण्टाभित्र कलेजबाट उपलब्ध गराइएको छात्रावास कोठा–क्वार्टर वा अन्य कुनै आवासीय सुविधा खाली गरी आफ्नो जिम्मामा रहेको कलेजको कुनै पनि सम्पत्ति सम्बन्धित छात्रावास–प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिइन्छ।’

वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रथानाचार्य डाक्टर के एन सिहद्वारा र होस्टेल सुपरिटेन्डेन्ट द्वारा हस्ताक्षर गरिएको सूचनामा अर्को सूचना जारी नभएसम्म सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूको शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, ड्युटी र अन्य सबै प्रशिक्षण गतिविधिहरू स्थगित रहने कलेजले प्रस्ट पारेको उल्लेख गरिएको छ।

केही दिन पहिला मात्रै आन्दोलनरत चिकित्सकहरूले काठमाडौं गएर आफ्नो जायज माग पूरा गराउनको लागि शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान का डीन प्राध्यापक डा. मोहन राज शर्मा, नेपाल चिकित्सक स‌ंघका केन्द्रीय अध्यक्ष डाक्टर बद्री रिजाल लगायतलाई भेटेका थिए।

वीरगन्जबाट आन्दोलनरत सय जनाको टोलीमा रहेका स्नातकोत्तर आवासीय चिकित्सकहरु सँगको भेटमा उनीहरूले एक दुई दिनमै जायज माग पूरा गराउन पहल गर्ने आश्वासन दिएका थिए।

माग पूरा हुने आश्वासन पाएर आउँदा उल्टै मेडिकल कलेजका छात्रावास खाली गराउन १२ घण्टे सूचना निकालेर गार्डहरूलाई समेत परिचालन गरेर सडकमा ल्याउन खोजिरहेको आरोप चिकित्सकहरूले लगाएका छन्।

जारी गरिएको सूचनाको समय भन्दा पहिला नै आफ्नो व्यवस्था गर भन्दै छात्रावासका कर्मचारी र गार्डहरूले थर्काउने कार्य गरिरहेको चिकित्सकहरूको आरोप छ।

प्रथम वर्षमा लगभग ५२ जना चिकित्सकहरू अध्ययन रहेकोमा २१ जना जति छात्रावासमा बस्ने गरेका छन्।