संयुक्त राष्ट्रसंघको जारी महासभाको उच्चस्तरीय सत्रलाई प्रधानमन्त्रीले गर्ने सम्बोधनको समयतालिका तय भएको छ।
राष्ट्रसंघ सचिवालयको कार्यतालिकाअनुसार प्रधानमन्त्रीको सम्बोधन न्युयोर्कको स्थानीय समयअनुसार बिहीबार दिउँसो र नेपाली समयअनुसार शुक्रबार मध्यरातपछि हुने भएको हो।
राष्ट्रसंघको पूर्वनिर्धारित कार्यतालिकाअनुसार स्थानीय समयअनुसार दिउँसो ३:०० बजे सुरु हुने सत्रमा नेपालका तर्फबाट प्रधानमन्त्रीको सम्बोधन तय गरिएको छ।
अमेरिकाको न्युयोर्क र नेपालको समयमा ९ घण्टा १५ मिनेटको फरक रहेकाले नेपाली समयअनुसार यो सम्बोधन शुक्रबार बिहान करिब बजेदेखि ६ बजेको आसपासमा हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ।
उच्चस्तरीय साधारण बहसमा विश्वभरका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको सम्बोधनको लामो सूची रहेकाले अघिल्ला वक्ताहरूको समयसीमाका आधारमा नेपालको पालो केही समय अगाडि वा पछाडि सर्न सक्नेछ।
सम्बोधन गर्नुअघि प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग साइडलाइन द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत छ।
प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा नेपालको शान्ति प्रक्रिया, दिगो विकास लक्ष्य प्राप्तिमा भएका प्रगति, अल्पविकसित देशबाट स्तरोन्नतिको मार्गचित्र तथा जलवायु परिवर्तनका कारण नेपालले भोगेका विपद् र त्यसको क्षतिपूर्तिका विषयलाई प्राथमिकताका साथ उठाउनेछन्।
प्रधानमन्त्रीको यो सम्बोधन संयुक्त राष्ट्रसंघको आधिकारिक वेब टीभीबाट प्रत्यक्ष प्रसारण हुनेछ।

प्रतिक्रिया