जिल्लाकै पुरानो मध्येको एक विद्यालयको नाममा जग्गा नहुँदा अनेकन समस्या भोग्नु परेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेको श्री माध्यामिक विद्यालय दोघरे स्थापना भएको आधा शताब्दी पूरा भए पनि हालसम्म जग्गा प्राप्त गर्न सकेको छैन।

कक्षा १० सम्म सञ्चालित उक्त विद्यालय २०३१ सालमा स्थापना भएको हो। विद्यालयको नाममा जग्गा नहुँदा निकै कठिनाइ भोग्नु परेको विद्यालयका प्रधानाध्यापक सुनिता यादवले बताइन्।

नगर विकासको जग्गामा विद्यालयका भवन बनाउनुपर्ने बाध्यता छ। नगर विकास समितिले उपलब्ध गराएको जग्गाको भोगाधिकार मात्रै छ। विद्यालयको नाममा नामसारी हुन सकेको छैन।

हाल १० कट्ठा जग्गामा विद्यालय भवन निर्माण गरेर पठन–पाठन भइरहेको छ। यस अघि उत्तरतर्फको दुई बिघामा विद्यालयले संरचना निर्माण गरेर लामो समयसम्म पठन–पाठन गर्दै आएको थियो। त्यो जग्गा पनि नगर विकास समितिकै थियो। सो जग्गा नगर विकास समितिले उच्च अदालत तुलसीपुरलाई दिएपछि विद्यालय अन्यत्र सार्नु परेको थियो। यसरी पहिलेका संरचनालाई छोडेर नयाँ संरचना बनाउँदा निकै समस्या हुने गरेको प्रअ यादवको भनाइ छ।

हाल उपलब्ध गराएको १० कट्ठा जग्गा पनि विद्यालयको नाममा नआउँदा विभिन्न दातृनिकायले दिने अनुदान पनि ल्याउन नसकिएको उनको भनाइ छ।

सङ्घीय सरकारको मन्त्रीपरिषद्ले निर्णय गरेपछि मात्रै जग्गा प्राप्ति हुने भएकाले सोही अनुसाको प्रक्रिया अगाडि बढाउन आवश्यक तयारी थालिएको प्रअ यादवले बताइन्। ‘अब जग्गा प्राप्तीका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ,’ उनले भने, ‘त्यही अनुसारको प्रक्रिया अगाडि बढाउने तयारीमा छौँ।’

विद्यालयका भवन सारिरहनु पर्ने वाध्यताप्रति स्थानीय अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन्। अभिभावक ओजबहादुर खड्काले विद्यालयका थुप्रै संरचना निर्माण भएपनि छोडेर जानुपर्ने अवस्था आउनु दुःखद रहेको बताए।

विद्यालयमा हाल पाँचसय बढी विद्यार्थी अध्ययनरत छन्। उक्त विद्यालय जिल्लाको पुरानोमध्यको एक हो। रासस