काठमाडौंको पिंगलास्थान क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई हैरानी दिने, लागुऔषध तथा यौनजन्य गतिविधिमा दुरुत्साहन गर्ने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-९ स्थित सडक खण्ड तथा सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप गरी शान्ति भङ्ग गरेको आरोपमा प्रहरी वृत्त गौशालाको टोलीले ६ पुरुष र ८ महिला गरी १४ जनालाई नियन्त्रणमा लिएको हो।
सर्वसाधारणको गुनासोका आधारमा उनीहरूलाई गत असोज २ गते राति १० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका व्यक्तिहरू डान्स, दोहोरी साँझ, बार तथा क्लबजस्ता रात्रिकालीन व्यवसायमा बिचौलियाका रूपमा सक्रिय थिए।
उनीहरूले बाटोमा हिँड्ने पर्यटक, सेवाग्राही र सर्वसाधारण नागरिकलाई हैरानी तथा अभद्र व्यवहार गर्ने, लागुऔषध र यौनजन्य गतिविधिमा आकर्षित गर्ने तथा झैझगडा गर्ने गरेको पाइएको छ।
पक्राउ परेका सबै जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दान बहादुर थापाले जानकारी दिए।

प्रतिक्रिया