राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले पूर्वी र पश्चिम दुवै मूल नहरअन्तर्गतका सिञ्चित क्षेत्रमा किसानहरूको लगत सङ्कलन सुरु गरेको छ।

किसानलाई जल उपभोक्ता सदस्यता वितरण गर्न र पानीको वास्तविक मागअनुसार वितरण प्रणाली व्यवस्थित बनाउन असोजभित्रै सक्ने गरी विवरण सङ्कलन थालिएको हो।

आयोजनाका निर्देशक राजु आचार्यका अनुसार सिँचाइ सुविधा लिनका लागि किसानहरू जल उपभोक्ता सदस्य बन्नु अनिवार्य छ।

यही सदस्यताका आधारमा उपशाखा, शाखा र मूल नहर सञ्चालन समितिहरू चयन हुनेछन् भने लगतकै आधारमा आयोजनाले आगामी पूर्वाधार विस्तारको योजना तय गर्नेछ।

हालसम्म पश्चिम मूल नहरअन्तर्गतका पेडारी, अकलघरुवा, पर्सेनीपुर शाखा तथा पूर्वी मूल नहरका राजकुलो, फत्तेपुर शाखा, उपशाखा र प्रशाखाका किसान एवं स्थानीय जनप्रतिनिधिसँग छलफल सम्पन्न भइसकेको छ।

घरदैलोमा आउने टोलीलाई यथार्थ विवरण दिन आग्रह गर्दै निर्देशक आचार्यले किसानको लगतका आधारमा खेतबारीमा आवश्यक पानीको परिमाण यकिन गरी नहरबाट आपूर्ति मिलाइने बताए।

आयोजनाको पूर्वी मूल नहर उपभोक्ता तदर्थ समितिका अध्यक्ष लालबहादुर बस्नेतले आगामी योजना निर्माण सहज बनाउन विवरण सङ्कलन भइरहेको र पूर्वी नहर क्षेत्रको काम अन्तिम चरणमा पुगेको जानकारी दिए।

सरकारको आफ्नै आन्तरिक स्रोतबाट आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको यस आयोजनामा हालसम्म करिब २४ अर्ब रुपैयाँ खर्च भइसकेको छ भने समग्र भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ। मर्मतको काम निरन्तर गर्दै बाँकी निर्माण आगामी पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।

बाँकेको राप्ती सोनारी गाउँपालिका अगैयास्थित राप्ती नदीमा ३१७ मिटरको ब्यारेज निर्माण गरी जिल्लाको कुल ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ पुर्‍याउने आयोजनाको बृहत् लक्ष्य छ।

जसअन्तर्गत पश्चिम नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट ९ हजार हेक्टर सिञ्चित हुनेछ। हालसम्म २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगिसकेको आयोजनाले जनाएको छ।