संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क आइपुगेका छन्।

परराष्ट्रमन्त्री खनाललाई जोन एफ केनेडी (जेएफके) अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र न्युयोर्कस्थित महावाणिज्यदूत दधिराम भण्डारीलगायत स्थायी नियोगका अधिकारीहरूले स्वागत गरेका थिए।

भ्रमणका क्रममा मन्त्री खनालले नेपालद्वारा आयोजना गरिने ‘एभरेष्ट टु द सी’ शीर्षकको उच्चस्तरीय साइडलाइन बैठकको नेतृत्व गर्नेछन्।

यसका अलावा उनले महासभामा सहभागी विभिन्न मुलुकका आफ्ना समकक्षी परराष्ट्रमन्त्रीहरूसँग द्विपक्षीय हित र कूटनीतिक सम्बन्ध विस्तारका विषयमा भेटवार्ता गर्ने कार्यतालिका छ।

परराष्ट्रमन्त्री खनाल नेतृत्वको भ्रमण टोलीमा परराष्ट्र सचिव अमृतबहादुर राई तथा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत उच्च कूटनीतिक अधिकारीहरू सहभागी छन्।