भोटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी-रसुवागढी सडक खण्डको पुनर्निर्माणका लागि बेलायत सरकारले बेलिब्रिजसहित आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
पूर्वाधार विकास मन्त्रालयमा सोमबार मन्त्री सुनील लम्साल र नेपालस्थित बेलायती दूतावासका वरिष्ठ विकास काउन्सिलर एलेक्स ल्यु नेतृत्वको प्रतिनिधिमण्डलबीच भएको भेटवार्तामा बेलायतले यस्तो प्रतिबद्धता जनाएको हो।
मन्त्रालयका अनुसार भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका विषयमा भएको छलफलमा गल्छी-रसुवागढी सडक खण्डमा आवागमन पुनःस्थापना गर्न आवश्यक पर्ने बेलिब्रिज बेलायत सरकारले उपलब्ध गराउने जानकारी दिएको छ।
साथै, सो क्षेत्रको समग्र पुनर्निर्माण कार्यमा प्राविधिक र आर्थिक सहायतासमेत जुटाइनेछ।
यसका अलावा नेपाल सरकारले अघि बढाएको दिगो वित्तीय व्यवस्थापन, डिजिटल रूपान्तरण तथा विपद् उत्थानशील विकासका क्षेत्रहरूमा समेत बेलायत सरकारले महत्त्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया