रसुवाको भोटेकोशी बाढीका कारण सम्पर्क विच्छेद भएका बस्तीहरूमा आवागमन पुनःस्थापना गर्न सरकारले झोलुङ्गे पुल मर्मत तथा आपत्कालीन तुइन निर्माण कार्यलाई तीव्रता दिएको छ।
यसै क्रममा नुवाकोटको बेलकोटगढीस्थित पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण तथा मर्मत कार्य सम्पन्न भई आगामी दुई दिनभित्र सर्वसाधारणका लागि खुला गरिने भएको छ।
पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन ललितपुरले उक्त पुलको बटारिएको लठ्ठा सीधा गर्ने, ‘स्याग सेटिङ’, ह्यान्डरेल केबुल फेर्ने तथा नयाँ स्टिल डेक र बिम जडानको काम पूरा गरेको हो। अब सुरक्षा जाली लगाउने कार्य सम्पन्न हुनासाथ दुई दिनभित्रै नियमित आवागमन सुरु हुनेछ।
बाढी प्रभावित नागरिकको तत्काल उद्धार तथा दैनिक आवतजावतलाई सहज बनाउन चारवटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइसकिएको छ।
नुवाकोटको इन्द्रेणीचौर र गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमा मोटरयुक्त तुइन तथा विदुर-५ देवीघाटमा तुइन चालु भइसकेको छ। यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित स्याफ्रुबेँसी-चिलिमे र हाकुबेँसीमा पनि तुइन सञ्चालनमा आइसकेका छन्।
यसबाहेक रसुवा र नुवाकोट जोड्ने पैरेबेँसी, स्याफ्रुबेँसी-लाङटाङ र रुङ्गामा थप तीनवटा तुइन जडानका लागि आवश्यक तयारी र स्थलगत अध्ययन भइरहेको छ।
यसैबीच बाढीले क्षतिग्रस्त बनाएका १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ। जसमा धादिङका कालिकास्थान, मालिङ्गा-मझुवाटार, महेशदोभान, चिरौंदी खोला, शीतलबजार-क्यूरेनीटार, बेल्खु-भुतिया र महादेवस्थान पुल रहेका छन्।
त्यस्तै नुवाकोट र धादिङ जोड्ने केउरेनी-गहते, फोस्रेटार, तारकेश्वर र बेलकोटगढी जोड्ने पिमलटार-जागाराम, नुवाकोटको जिलिङ तथा गोरखा र धादिङ जोड्ने बादरे र धवादीघाट झोलुङ्गे पुल मर्मतको अन्तिम तयारीमा छन्।
बाढीबाट क्षतिग्रस्त अन्य सातवटा झोलुङ्गे पुलको मर्मत कार्य पनि थालिएको छ। यसका लागि पहिलो चरणको स्टिल पार्ट्स खरिद सम्पन्न भइसकेको र दोस्रो चरणका लागि सम्झौता भइसकेको छ।
बाढीले पूर्ण रूपमा बगाएर क्षति पुर्याएका ३३ वटा झोलुङ्गे पुलहरूको भने स्थायी पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया