पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ तल्लो छिर्कनेमा सोमबार दिउँसो विद्युतीय (ईभी) हाइस अनियन्त्रित भई घरमा ठोक्किँदा एक महिला यात्रु गम्भीर घाइते भएकी छन्।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ६१९४ नम्बरको ईभी हाइस सडक छेउमा रहेको स्थानीय तिल गिरीको दुई तले पक्की घरमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परेर हाइसमा सवार पोखरा महानगरपालिका-३० शिशुवाकी ५५ वर्षीया सर्मिला त्रिपाठी सख्त घाइते भएकी छन्। हाइसमा चालकसहित तीन जना सवार थिए।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरेको कमान्डमा ट्राफिकसहित ११ जनाको प्रहरी टोलीले घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो।
घाइते त्रिपाठीलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकामा त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल रिफर गरिएको डीएसपी घिमिरेले जानकारी दिए।
दुर्घटनामा संलग्न हाइस र चालक पोखरा-३३ बस्ने ४० वर्षीय सुरेन्द्र थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको तनहुँ प्रहरीले जनाएको छ। दुर्घटनापछि राजमार्गमा अवरुद्ध बनेको सवारी आवागमन अहिले पूर्ण रूपमा सुचारु भइसकेको छ।

प्रतिक्रिया