त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी २५ वर्षीय दावा लामाले गाडीभित्र आगजनी गरेको घटना छानबिन गर्न समिति गठन गरिएको छ।

उपत्यका प्रहरी कार्यालयका एसएसपी रमेश बस्नेतको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई घटनाबारे छानबिन गर्न पाँच दिनको समयसीमा दिइएको छ।

सोमबार दिउँसो सवा १२ बजे तिर बा.५ ख ४२७४ नम्बरको रिद्धिसिद्ध यातायातमा चालक आगलागि भएको थियो।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा लामाले नै बसमा आगो लगाएको आशंका गरेको छ। बसको ढोका बन्द रहेकाले सुरक्षाकर्मीले ढोका फुटाएर उनको उद्धार गरेका थिए।

लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको चिकित्सकले बताएका छन्। उनको अवस्था गम्भीर रहेको र कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

बसमा आगजनी गर्नुअघि उनले ट्राफिक प्रहरीसँग विवाद गरेका थिए। उनले आफूले गल्ती नगरेको र ‘आफू मर्न तयार रहेको’ भन्दै ट्राफिकसँग विवाद गरेका भिडियोमा देखिएको छ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।