सिद्धार्थ मल्होत्रा र तमन्ना भाटिया अभिनीत आगामी फिल्म ‘द वन’ प्रदर्शनमा आउनुअघि नै विवादमा तानिएको छ । गायक सरगम वैशले फिल्मको ट्रेलरमा आफ्नो अनुमति बिना मौलिक गीत प्रयोग गरिएको आरोप लगाएपछि फिल्म विवादमा परेको हो ।

सरगमले सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै फिल्मका निर्मातामाथि आफ्नो गीत प्रयोग गरेको आरोप लगाएका छन् । उनका अनुसार फिल्मको ट्रेलरमा करिब २५ सेकेन्डसम्म ‘ऐगिरि नन्दिनी’ गीत सुनिन्छ, जुन आफ्नो मौलिक सिर्जना भएको उनको दाबी छ ।

सरगमले उक्त गीत अहिलेसम्म सार्वजनिकसमेत नभएको बताएका छन् । आफ्नो दाबीलाई पुष्टि गर्ने प्रमाणसमेत सार्वजनिक गर्दै उनले फिल्मको ट्रेलर तथा प्रचार सामग्रीमा गीत प्रयोग गर्न आफूले कुनै अनुमति नदिएको उल्लेख गरेका छन् ।

उनले फिल्मको टिमले अनुमति वा सहमति नलिई आफ्नो सिर्जना प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् । सरगमले फिल्म निर्माण पक्षलाई गीत हटाउन आग्रह गर्दै त्यसो नभए कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् ।

उनले इन्स्टाग्राममा लेखेका छन्, ‘द वन’ को ट्रेलर हेर्दा आफ्नो मौलिक गीत अनुमति वा सहमति बिना प्रयोग गरिएको पाएँ । उनका अनुसार उनले ट्रेलर वा फिल्मको प्रचारमा आफ्नो संगीत प्रयोग गर्न फिल्म निर्माण पक्षलाई कुनै अनुमति दिएका थिएनन् ।

सरगमले उक्त गीतका लागि आफूले यसअघि नै एउटा ठूलो संगीत कम्पनीसँग सम्झौता गरिसकेको समेत बताएका छन् । आफ्नो अनुमति बिना गीत प्रयोग गर्दा उक्त सम्झौतामा समेत असर पर्न सक्ने उनको भनाइ छ ।

कलाकारको सिर्जनात्मक अधिकारको सम्मान हुनुपर्नेमा जोड दिँदै सरगमले आफ्नो संगीत प्रयोग गरिएको हो भने त्यसका लागि लिइएको अनुमति वा लाइसेन्सबारे स्पष्ट जानकारी उपलब्ध गराउन फिल्म निर्माण पक्षसँग माग गरेका छन् ।

उनले फिल्म टिमलाई गीत तत्काल हटाउन र आफूलाई प्रत्यक्ष सम्पर्क गर्न आग्रह गरेका छन् । यद्यपि, गीत प्रयोगसम्बन्धी सरगमको आरोपबारे ‘द वन’ का निर्माताको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।