प्रतिनिधि सभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ।

बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेकी उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन्। उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन्।

तालिम लिन चाहने विद्यार्थीका लागि निश्चित मापदण्ड निर्धारण गरिएको उल्लेख गर्दै उनले विधेयकमा दूरदराजका विद्यार्थीका लागि तालिम र विकटका विषयलाई प्राथमिकतासहितका प्रावधान गरिएको बताइन्।

यसअघि विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले भाग लिँदै आ–आफ्ना धारणा व्यक्त गरेकी थिइन्।

प्रतिनिधि सभाको अर्को बैठक यही असोज ६ गते दिउँसो १ः०० बजे बस्नेछ।