अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नक्कली समाचार’ रिपोर्टिङ गरेको आरोप लगाउँदै प्रतिबन्ध लगाएपछि सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेश गर्न रोक लगाइएको छ।
तीन वटै सञ्चारमाध्यमले आफ्नो अधिकारका लागि कानुनी कदम चाल्ने तयारी गरेका छन्।
शनिबार ह्वाइट हाउस पुगेका सीएनएनकी बेट्सी क्लेन र एमएस नाउकी अकायला गार्डनरलाई प्रवेश दिइएन। उनीहरूको प्रेस ब्याज (पास) निष्क्रिय पारिएको थियो। त्यसपछि पोलिटिकोका ह्वाइट हाउस रिपोर्टर चेयेन ह्यासलेटलाई पनि प्रवेश रोक्दै उनको ब्याज जफत गरिएको एपीले जनाएको छ।
एमएस नाउकी गार्डनरले ह्वाइट हाउसका दुई वटा ढोका पार गरेपछि आफ्नो ब्याज स्क्यान गर्नुपर्ने स्थानमा एक अधिकारीले ब्याज निष्क्रिय भएको जानकारी दिएको बताइन्। उनलाई ब्याज बुझाउन भनिएको थियो। एमएस नाउका एक निर्माता भने भित्र प्रवेश गर्न सफल भए। एक फोटोग्राफरको ब्याज पनि निष्क्रिय पारिएको गार्डनरले बताइन्।
सीएनएनकी वरिष्ठ ह्वाइट हाउस रिपोर्टर क्लेनले पनि आफ्नो ब्याज निष्क्रिय पारिएको बताइन्। उनको ब्याज जफत गरेर पारदर्शी प्लास्टिकको केस फिर्ता दिइएको थियो। थप जानकारीका लागि उनलाई ह्वाइट हाउसको प्रेस कार्यालयमा सम्पर्क गर्न भनिएको उनले सुनाइन्।
पोलिटिकोका प्रमुख सम्पादक जोनाथन ग्रीनबर्गरले पहिलो संशोधनअन्तर्गतको अधिकारको रक्षा गर्ने बताएका छन्। सीएनएनले सरकार र सार्वजनिक निकायलाई जवाफदेही बनाउने आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताएको छ। एमएस नाउले पनि पहिलो संशोधनअन्तर्गतको अधिकार र स्वतन्त्र पत्रकारिताको भूमिका जोगाउन आवश्यक कदम चाल्ने बताएको छ।
उता, ह्वाइट हाउस संवाददाता संघकी अध्यक्ष ज्याकी हेनरिकले तीन वटै सञ्चारमाध्यमको प्रवेश अधिकार तत्काल फिर्ता गर्न ट्रम्प प्रशासनसँग आग्रह गरेकी छन्। उनले एउटा सञ्चारमाध्यमलाई उसको समाचारका कारण प्रवेशबाट रोक्ने अभ्यास भविष्यमा अन्य सञ्चारमाध्यममा पनि लागू हुन सक्ने चेतावनी दिइन्।
पेन स्टेट युनिभर्सिटीकी प्राध्यापक तथा मिडिया कानुनकी विज्ञ एमी क्रिस्टिन स्यान्डर्सले प्रशासनले परम्परागत प्रेस स्वतन्त्रतासम्बन्धी नियम र मान्यतालाई बेवास्ता गरिरहेको बताइन्। सीएनएनका मिडिया विश्लेषक ब्रायन स्टेल्टरले यो कदम प्रेस स्वतन्त्रतासँग सम्बन्धित विषय भएको बताए।
राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत सीएनएनसहित तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका थिए। उनले ती सञ्चारमाध्यमले लगातार ‘नक्कली समाचार’ प्रकाशित गरेको आरोप लगाएका छन्। पछि ओभल अफिसमा बोल्दै उनले ती संस्थाले आफूलाई मन नपर्ने समाचार प्रकाशित गरेको दाबी गरेका थिए।
मूलधारका सञ्चारमाध्यमसँग ट्रम्प प्रशासनले विवाद गरेको यो पहिलोपटक भने होइन्। यसअघि पनि प्रशासनले विभिन्न सञ्चारमाध्यमसँग विवाद र कानुनी प्रक्रियाको सामना गरेको छ।
गत वर्ष ट्रम्पले एपीका पत्रकारलाई ओभल अफिस, एयर फोर्स वनलगायतका स्थानमा प्रवेश गर्न रोक लगाएका थिए। एपीले ‘गल्फ अफ मेक्सिको’लाई ट्रम्पले दिएको ‘गल्फ अफ अमेरिका’ नाम प्रयोग नगरेको भन्दै ट्रम्पले प्रतिबन्ध लगाएका हुन्। यो विषयमा एपीले दायर गरेको मुद्दा अहिले पनि चलिरहेको छ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया