भारतको पश्चिम बंगालस्थित दार्जिलिङको सिट्टोङमा हनिमुन मनाउन पुगेकी एक महिला बार्बेक्यु गर्ने क्रममा गम्भीर घाइते भएकी छन्।
उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। गत आइतबार होमस्टे पुगेका सौविक दास र उनकी श्रीमती निकिताले राति बार्बेक्युको सेवा लिएका थिए। त्यसक्रममा एक जनाले बार्बेक्युमा ठुलो मात्रामा तरल पदार्थ थपेपछि अचानक आगो चर्किएको बताइएको छ।
सौविकका अनुसार तरल पदार्थ थपेपछि आगो अचानक दन्किएको र त्यस क्रममा कन्टेनर निकितातर्फ फ्याँकिएको थियो। केही सेकेन्डमै निकिताको शरीरमा आगो लागेको थियो। निकितालाई सुरुमा नजिकैको अस्पताल लगिएको थियो। पछि अवस्था गम्भीर भएपछि उनलाई कारबाट सिलिगुडीस्थित निजी नर्सिङ होममा लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सो घटनामा सामान्य घाइते भएका सौविकले कर्सोङ प्रहरी चौकीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले होमस्टेका मालिक पवन कुमार अग्रवाल, उनका छोरा नेहल ऐरन, प्रबन्धक दिपेन लामा र नसिरुद्दीनलाई पक्राउ गरेको हो। उनीहरूलाई कर्सोङ अदालतमा पेश गरेपछि चार दिनको प्रहरी हिरासतमा पठाइएको छ।
सौविकले ‘बार्बेक्यु चलाउने व्यक्तिसँग अनुभव नभएको’ र होमस्टे व्यवस्थापनले पनि आफ्नो जिम्मेवारी पूरा नगरेको आरोप लगाएका छन्। उनका अनुसार घटनाका बेला बार्बेक्यु चलाउने व्यक्ति नियमित कर्मचारी पनि थिएनन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ। बार्बेक्युका क्रममा आवश्यक सुरक्षा उपाय अपनाइएको थियो कि थिएन र होमस्टे व्यवस्थापनको भूमिकाबारे पनि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया