अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईको तीव्र विकासलाई निरन्तरता दिने भन्दै ‘एआई फोर्स’ गठन गर्ने घोषणा गरेका छन्।

उनले चाँडै ‘एआई जार’ (कृत्रिम बौद्धिकता प्रमुख) नियुक्त गर्ने पनि बताए। ट्रम्पले शनिबार ट्रुथ सोसियलमा एआईबाट मानव अस्तित्वमा खतरा आउन सक्ने भन्दै फैलाइएको डरलाई छलको संज्ञा दिँदै यस्तो घोषणा गरेका हुन्। उनले अमेरिकामा एआईको विकासमा कुनै अवरोध नपुर्‍याउने स्पष्ट पारेका छन्।

‘हामी यस अविश्वसनीय उद्योगको विकासलाई कुनै पनि हिसाबले बाधा पुर्‍याउने वा निरुत्साहित गर्ने छैनौँ। बरु, हामी यसलाई कदर गर्नेछौँ, मद्दत गर्नेछौँ र यो बढ्दै जाँदा यसको हेरचाह गर्नेछौँ,’ ट्रम्पले भनेका छन्।

उनले एआईलाई अर्को औद्योगिक क्रान्ति वा इन्टरनेटसँग तुलना गर्दै यसको प्रभाव अमेरिकाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २५ प्रतिशतसम्म पुग्न सक्ने बताए। चीनसँग एआईमा प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ छ। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा स्पेस फोर्स गठन गरेजस्तै ‘एआई फोर्स’ बनाउने बताए।

डिसेम्बर २०२४ मा ट्रम्पले डेभिड स्याक्सलाई ह्वाइट हाउसका ‘एआई र क्रिप्टो जार’ नियुक्त गरेका थिए। स्याक्सले मार्च २०२६ मा विशेष सरकारी कर्मचारीका रूपमा आफ्नो कार्यकाल सकिएको बताएका थिए। उनले एआईबाट मानवतामा पर्न सक्ने जोखिमबारेको डर अतिरञ्जित भएको बताएका छन्। यद्यपि, सावधानी अपनाउँदै एआईको विकास जारी राख्नुपर्ने उनको भनाइ छ।

यसबिच, केही एआई विज्ञ र उद्योगका नेताले प्रविधिको तीव्र विकाससँगै जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्। एन्थ्रोपिकका प्रमुख डारियो अमोदेईले एआईमा वास्तविक जोखिम रहेको बताएका छन्। तर ट्रम्पले एआईको विकास रोक्ने वा सुस्त बनाउने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। उनले अमेरिकाले चीन र विश्वका अन्य देशलाई एआईमा नेतृत्व गरिरहेको दाबी गर्दै त्यसलाई कायम राख्न चाहेको बताएका छन्।

एआईको विकास, सुरक्षा र नियमनबारे अमेरिकामा पछिल्लो समय राजनीतिक बहस पनि बढेको छ। पूर्वराष्ट्रपति बाराक ओबामाले पनि एआईलाई नियमन गर्नुपर्ने बताएका छन्।

यसैबिच, ट्रम्प प्रशासनले संयुक्त राष्ट्र महासभाको छेउ(साइडलाइन) मा एआईसम्बन्धी उच्चस्तरीय कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। एआई सुरक्षा र विकासका विषयमा अमेरिकी अधिकारी तथा प्रविधि कम्पनीका प्रमुखबिच पनि छलफल हुने अपेक्षा गरिएको छ। एजेन्सी