बेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको छ।
‘एमबिबिएस, एमएस’ (जनरल सर्जरी) चिकित्सक डा. अडिना बाटाजूबाट विशेषज्ञ जनरल सर्जरी सेवा उपलब्ध गराउन थालिएको अस्पतालले जनाएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार अस्पतालमा सेवा विस्तारसँगै विभिन्न रोगको शल्यक्रिया व्यवस्था मिलाइएको हो।
गाँठागुँठी, लिपोमा तथा सिस्टको शल्यक्रिया, हर्निया तथा हाइड्रोसिल, एपेन्डिसाइटिस तथा एपेन्डिक्सको शल्यक्रिया, पायल्स, फिसर तथा फिस्टुलालगायत रोगको उपचार तथा शल्यक्रिया गरिने भएको छ। घाउ तथा चोटपटकको उपचार तथा शल्यक्रिया, छाला तथा नरम तन्तुसम्बन्धी शल्यक्रिया र आकस्मिक तथा आवश्यक अन्य जनरल सर्जरी सेवा पनि उपलब्ध हुने अस्पतालले जनाएको छ।
डा. बास्तोलाले अस्पतालमा उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गर्दै विशेषज्ञ सेवा विस्तारलाई प्राथमिकता दिइएको बताए। रासस

प्रतिक्रिया