राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादा उल्लङ्घन भएको भन्दै प्रश्न उठाएका छन्।

भारतीय समकक्षीसँगको द्विपक्षीय भेटवार्तामा नेपालको राष्ट्रिय झण्डा नराखिएको भन्दै उनले आपत्ति जनाएका हुन्।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत सांसद् शाहीले अर्थमन्त्रीको भारत भ्रमण व्यक्तिगत हो कि पदीय हैसियतको भन्दै स्पष्ट पार्न माग गरे।

उनले लेखेका छन्, ‘अर्थमन्त्रीज्यू, तपाईं व्यक्तिगत रूपमा घुम्न जानुभएको हो कि नेपालको अर्थमन्त्रीको हैसियतमा ?’

विदेश भ्रमणका निश्चित विधि, नीति र कूटनीतिक मर्यादा हुने स्मरण गराउँदै शाहीले नयाँ दिल्लीस्थित नेपाली दूतावासको भूमिकामाथि पनि असन्तुष्टि व्यक्त गरे।

दिल्लीमा नेपालको आफ्नै राजदूतावास रहँदा समेत मन्त्रीस्तरीय बैठकमा एउटा राष्ट्रिय झन्डासम्म राख्न नसक्नुको कारण के हो भन्दै सांसद् शाहीले अर्थमन्त्री वाग्लेसँग जवाफ मागेका छन्।