हिमाली जिल्ला मनाङको ‘लाइफलाइन’ मानिएको बेँसीसहर-चामे सडकखण्डमा ठूलो चट्टानसहितको पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

नासो गाउँपालिका-३ खोत्रोमा खसेको पहिरो पन्छाउन नसक्दा यात्रु तथा पर्यटकहरू बाटोमै अलपत्र परेका छन्।

दिनभर प्रयास गर्दा पनि सडकमा खसेको विशाल चट्टान हटाउन नसकिएपछि नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर फुटाउने तयारी गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार सडकको बीचमै भीमकाय चट्टान खसेकाले सामान्य उपकरणबाट हटाउन सम्भव नभएको हो।

‘सडकको बीचमा ठूलो चट्टान बज्रिएकाले दिनभरको प्रयास खेर गयो,’ सहायक प्रजिअ पौडेलले भने, ‘अब नेपाली सेनालगायत सुरक्षाकर्मीको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फुटाएर सडक खुलाउने प्रयास भइरहेको छ।’

सडक अवरुद्ध हुँदा विशेषगरी पदयात्रामा निस्किएका पर्यटकहरू बढी मारमा परेका छन्। गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले पर्यटक तथा स्थानीयलाई परेको सास्तीलाई ध्यानमा राख्दै द्रुत गतिमा सडक सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्।

अहिले पहिरो हटाउन जिल्ला समन्वय समितिका उपप्रमुख सुरेन्द्र गुरुङसहितको टोली घटनास्थलमै खटिएको छ। डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाका इन्जिनियर नवीन विष्टले हाल चट्टानमा ड्रिलिङ गर्ने काम भइरहेको जानकारी दिए।

उक्त खण्डका अन्य स्थानमा गएका साना पहिरो भने पन्छाइसकिएको उनले बताए। मर्स्याङ्दी करिडोरअन्तर्गत पर्ने यो सडकखण्डमा वर्षायाममा ठूला सवारीसाधन सञ्चालन हुँदा सडक भासिने र पहिरोको जोखिम उच्च हुने गरेको छ।