सरकारले शेयर बजारमा व्यक्तिगत लगानीकर्ताका लागि अग्रिम करको दर समायोजन सहित साउदी अरबमा ज्यान गुमाएका तथा घाइते भएका नेपाली श्रमिकलाई क्षतिपूर्ति दिलाउन कानुनी बाटो खुला गरेको छ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले आर्थिक, प्रशासनिक तथा वैदेशिक रोजगारीसँग जोडिएका ६ वटा महत्त्वपूर्ण निर्णय गरेको हो।
मन्त्रिपरिषद्ले नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको शेयर कारोबारबाट हुने लाभमा प्राकृतिक व्यक्तिका लागि नयाँ अग्रिम कर निर्धारण गरेको छ।
जसअनुसार अब ३६५ दिनभन्दा बढी अवधि स्वामित्व रहेको शेयर बिक्रीको लाभमा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्व रहेको शेयर लाभमा ५ प्रतिशत अग्रिम कर कायम गरिएको छ।
यसैगरी, वैदेशिक रोजगारीको प्रमुख गन्तव्य साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति रकम दाबी प्रक्रियालाई सरकारले कानुनी रूपमै सहज बनाएको छ।
त्यहाँका स्थानीय कानुन व्यवसायीलाई वारेसनामा दिएर क्षतिपूर्ति प्रक्रिया अघि बढाउने सम्बन्धी विशेष आदेश जारी गर्ने निर्णय भएको छ।
प्रशासनिक कार्यशैलीलाई आधुनिक बनाउने उद्देश्यसहित सरकारले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीकृत गरेको छ।
विपद् व्यवस्थापन र आकस्मिक सहयोगलाई व्यवस्थित गर्न ‘चक्रीय राहत कोष सञ्चालन कार्यविधि, २०८३’ लाई समेत बैठकले स्वीकृति दिएको छ।
त्यस्तै, निजामती प्रशासन र न्याय सेवामा उच्च तहको पदपूर्ति गरिएको छ। नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको छ।
0यता, नेपाल न्याय सेवाको न्याय समूह राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई पनि राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय भएको छ।

प्रतिक्रिया