राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ महासभा सहभागितालाई जलवायु न्यायसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज प्रभावकारी रूपमा उठाउनुपर्ने बताएका छन्।
आज बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका क्षति तथा समस्यालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने बताए।
सर्वदलीय बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसंघ महासभामा जलवायु न्यायका विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएको उनको भनाइ छ।
‘प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदै हुनुहुन्छ। यसलाई जलवायु न्यायसँग हेरेर विश्व मञ्चमा नेपालको तर्फबाट के–कस्ता आवाज उठाउनुपर्छ भन्ने विषयमा महत्वपूर्ण नेताहरूले कुरा राख्नुभएको छ,’ खरेलले भने।
नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको क्षति, त्यसबाट प्रभावित समुदाय तथा जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतालाई विश्व मञ्चमा उठाउनुपर्नेमा बैठकमा जोड दिइएको उनले बताए।
खरेलले जलवायु न्यायसँग सम्बन्धित विषयलाई सरकार र सत्तारूढ रास्वपाले गम्भीर रूपमा लिएको बताए। नेपालका समस्या तथा माग अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा प्रस्तुत गर्ने विषयलाई सरकारले आत्मसात् गर्ने निष्कर्ष बैठकबाट निस्किएको उनको भनाइ छ।
यसैगरी, सर्वदलीय बैठक र राजनीतिक संयन्त्र गठनको पहल गरेको भन्दै सहभागी विभिन्न दलका नेता तथा प्रतिनिधिहरूले रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिएको खरेलले जानकारी दिए।

प्रतिक्रिया