उदयपुरको उदयपुरगढी गाउँपालिका-०७ अँधेरीस्थित सडकखण्डमा बुधबार बिहान ट्रक र यात्रुवाहक माइक्रोबस एकापसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन्।

दुर्घटनामा परी घाइते भएकामध्ये गम्भीर अवस्थाका आठ जनालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ। अन्य घाइतेहरूको भने जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बुधबार बिहान करिब १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको यात्रुवाहक हायस ठोक्किएका हुन्।

दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विपेश कुमार देवको कमान्डमा खटिएको १५ जनाको प्रहरी टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुने हायसका चालक मोरङको कानेपोखरी गाउँपालिका-६ रमाइलो बस्ने ४४ वर्षीय रामबहादुर बि.क. र सोही ठाउँका ४० वर्षीय सहचालक देवराज बि.क. रहेका छन्।

त्यसैगरी मोरङकै कानेपोखरी-६ का २४ वर्षीय लबिन चौलागाई, सुन्दरहरैँचा नगरपालिका-७ की २७ वर्षीया पवित्रा भट्टराई, सुन्दरहरैँचा-६ का ७९ वर्षीया जमुना राई र ४१ वर्षीय एदुचन्द्र राई पनि घाइते भएका छन्।

यस्तै, काठमाडौंको चन्द्रागिरी नगरपालिका-१४ का ५६ वर्षीया इन्दिरा श्रेष्ठ, ४८ वर्षीया रुकमाया श्रेष्ठ, ५३ वर्षीया पविना श्रेष्ठ र बुढानीलकण्ठ नगरपालिका-५ बस्ने ४३ वर्षीया शान्ति न्यारिका घाइते भएका छन्।

अन्य घाइतेहरूमा उदयपुरको त्रियुगा नगरपालिका-३, मिलनचोककी ४२ वर्षीया रस्मिला दाहाल, बेलका नगरपालिका-६ का ३१ वर्षीय डम्बरबहादुर बि.क. र २० वर्षीय सुदिप राई रहेका छन्।

त्यस्तै बाँकेको नेपालगञ्ज नगरपालिका-३ की २१ वर्षीया लक्ष्मी गिरी, इलामको जोगमाई नगरपालिका-१ का २५ वर्षीय सगुन गुरुङ र सिन्धुलीको कमलामाई नगरपालिका-१ की ४० वर्षीया सानु थापा पनि दुर्घटनामा घाइते भएका छन्।