राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘ग्रेजोन’ मा आएको रिपोर्टको आधिकारिकता र विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। उनले उक्त रिपोर्टबारे आफू अनभिज्ञ रहेको र नपढेको दाबी गरेका छन्।

सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले आधारहीन र विश्वसनीयता नभएका विषयमा आफ्नो र सञ्चारमाध्यमको समय खेर फाल्न नहुने बताए।

सामाजिक सञ्जालमा ‘ग्रेजोन’ को रिपोर्टबारे चर्चा भइरहेको सन्दर्भमा सञ्चारकर्मीले धारणा माग्दा लामिछानेले उल्टै प्रतिप्रश्न गरेका थिए। उनले भने, ‘के रहेछ ग्रेजोन ? मलाई सुनाइदिनुपर्‍यो। यो कुन पत्रिका हो र अमेरिकाको कुन ठाउँबाट निस्किन्छ ?’

सञ्चारकर्मीले सामाजिक सञ्जालभरि यसबारे चर्चा भइरहेको बताएपछि लामिछानेले भने, ‘मैले त पढेको छैन। जुन चिजको ‘क्रेडिबिलिटी’ छैन, त्यो म पढ्दिनँ।’

उनले अगाडि थपे, ‘अण्टसण्ट कुरा नलेखिए त पढ्छु, तर विश्वसनीयता नै नभएको कुनै चिज आयो भन्दैमा यत्रो देशको क्यामेरा, माइक र पत्रकारहरूको समय त्यस्ता समाचारमा खेर फाल्ने ?’

द ग्रेजोनले गत सेप्टेम्बर ९ मा प्रकाशित गरेको रिपोर्टमा अमेरिकी सहयोगमा सञ्चालित ‘निति संवाद’ कार्यक्रम तथा त्यससँग सम्बन्धित संस्था CEPPS का कागजातलाई आधार बनाउँदै नेपालका केही वर्तमान राजनीतिक नेताहरूको राजनीतिक उदयसँग अमेरिकी सहयोग र नेतृत्व विकास कार्यक्रमको सम्बन्ध रहेको दाबी गरिएको छ।