अस्ट्रेलियाको सिड्नीस्थित ड्राइभवेमा खेलिरहेकी तीन वर्षीया बालिकालाई कारले ठक्कर दिँदा मृत्यु भएको घटनामा नेपाली युवक सन्दीप अधिकारीले माफी मागेका छन्।

२७ वर्षीय अधिकारी बुधबार बर्वुड स्थानीय अदालतमा पहिलोपटक उपस्थित भएका थिए। उनीमाथि लापरवाहीपूर्वक गाडी चलाएर घटना निम्त्याएको आरोप लगाइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार उनले अहिलेसम्म आरोप स्वीकार वा अस्वीकार गरेका छैनन्।

मंगलबार दिउँसो अबर्नस्थित घरको ड्राइभवेमा खेलिरहेकी बालिकालाई एसयूभीले ठक्कर दिएको थियो। घटनाको सीसीटिभी फुटेजमा कारले बालिकालाई ठक्कर दिएपछि केही दूरीसम्म अघि बढेको देखिन्छ।

गम्भीर घाइते बालिकालाई वेस्टमीड अस्पताल लगिएको थियो। तर, केही घण्टापछि उनको मृत्यु भयो। अधिकारीलाई घटनापछि अनिवार्य परीक्षणका लागि अस्पताल लगिएको थियो। त्यसपछि उनलाई पक्राउ गरी अभियोग लगाइएको हो।

अदालतबाट बाहिरिँदा उनले पत्रकारसँग भने, ‘अवश्य पनि म धेरै माफी चाहन्छु।’

उनका वकिल ड्यानी इडले अधिकारी बालिकाको परिवारको अवस्थालाई लिएर ‘धेरै, धेरै तनावमा र चिन्तित’ रहेको बताए। उनले अधिकारीले परिवारप्रति गहिरो दुःख व्यक्त गर्न आग्रह गरेको पनि बताए।

उनी अहिले जमानतमा बाहिर छन्। सन्दीपलाई जमानत अवधिभर सवारी चलाउन प्रतिबन्ध लगाइएको छ भने हरेक दिन प्रहरीमा हाजिर हुनुपर्ने सर्त राखिएको छ। उनी अक्टोबर २७ मा अदालतमा फेरि उपस्थित हुने भएका छन्।