गण्डकी प्रदेशका १० जिल्लामा गत पुस-माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ।
मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको सङ्क्रमण नदेखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ। गत जुलाइपछि डेङ्गु सङ्क्रमणको दर बढेको केन्द्रका निर्देशक मनमोहन मिश्रले बताए।
गत जेठ र असारमा ४१५ जनामा सङ्क्रमण पुष्टि भएकोमा साउनमा त्यो सङ्ख्या बढेर एक हजार २४७ पुगेको थियो। भदौ लागेयता ३८२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। पछिल्लो हप्ता सेप्टेम्बर ७ देखि १३ भित्रमा २२८ जनामा सङ्क्रमण पुष्टि भएको केन्द्रका निर्देशक मिश्रले जानकारी दिए।
त्यस मध्ये सबैभन्दा बढी बागलुङमा १७० जनामा सङ्क्रमण देखिएको छ। सोही अवधिमा कास्कीमा २०, पर्वतमा १६, म्याग्दीमा सात, गोरखामा छ, स्याङ्जा चार, तनहुँ तीन र लमजुङमा दुई जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो।
‘अब विस्तारै सङ्क्रमण कम हुँदै जान्छ’, निर्देशक मिश्रले भने, ‘जोखिम भने कायमै रहेकाले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिनुपर्छ।’
प्रदेशभरिमा बागलुङ नगरपालिका डेङ्गुबाट सबैभन्दा बढी प्रभावित भएको उनको भनाइ छ। पछिल्लो हप्ता सङ्क्रमण पुष्टि भएका २२८ मध्ये ५७ जना त्यस नगरपालिकामा रहेका छन्। बागलुङपछि पोखरा महानगरपालिकालगायत स्थानीय तहमा सङ्क्रमण बढी देखिएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले डेङ्गु सङ्क्रमण रोक्न ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताए। समयमा नियन्त्रण र रोकथाम गर्न नसके डेङ्गुले प्रकोपको रुप लिने उनको भनाइ छ। डेङ्गु फैलाउने लामखुट्टेको बासस्थान नष्ट गरी जीवनचक्र खल्बल्याउन कास्कीलगायत अन्य जिल्लामा पनि उक्त अभियान सञ्चालन गरिएको छ।
डेङ्गु नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्ने प्रमुख शर्माले बताए। डेङ्गु सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनको भनाइ छ।
डेङ्गुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रममा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने चिकित्सकको सुझाव छ। उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरु बताउँछन्।
डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए अस्पतालको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ।
असारदेखि कात्तिकसम्म डेङ्गुको सङ्क्रमण बढी फैलने गरेको केन्द्रका निर्देशक मिश्रले बताए। डेङ्गु सार्ने ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टेले जम्मा भएको सफा पानीमा फुल पार्ने र यसले दिनमा मात्र टोक्ने बताइएको छ।

प्रतिक्रिया