राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रञ्जु दर्शनाले अस्पताल पुगेर पनि बाहिर चिसो भुइँमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु दुःखद भएको बताएकी छन्।

बुधबार संसदमा बोल्दै उनले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बबिता पासवानले अस्पतालबाहिर बच्चा जन्माउनुपरेको घटनाले सुरक्षित मातृत्व तथा आमा-नवजात शिशु सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नभएको देखाएको बताइन्।

उनले आमा तथा नवजात शिशु कार्यक्रम लागू भएका सबै अस्पतालमा प्रसूति सेवा निःशुल्क हुनुपर्ने बताएकी छन्। हाल केही आधारभूत रगत परीक्षण र अल्ट्रासाउन्ड निःशुल्क भए पनि एनोमली स्क्यानसमेत निःशुल्क गर्नुपर्ने उनको माग छ।

हाल १४५ अस्पतालमा मात्रै आमा तथा नवजात शिशु कार्यक्रम रहेको उल्लेख गर्दै उनले देशभर प्रसूति सेवा दिने संस्थाको पूर्ण परीक्षण गरी कार्यक्रम प्रभावकारी रूपमा विस्तार गर्न सरकारसँग माग गरिन्।