सिरहामा लागूऔषध गाँजाजस्तो देखिने पदार्थ बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ। एम्बुलेन्सका चालक भने फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब ८ बजे चौहर्वातर्फबाट सिरहातर्फ आउँदै गरेको ज १ च २२२३ नम्बरको एम्बुलेन्समा लागूऔषध गाँजा लोड गरी ल्याइएको भन्ने गोप्य सूचना प्राप्त भएको थियो।

सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउँदै सिरहा नगरपालिका-२ स्थित हुलाकी सडकखण्डमा रोकेको थियो। प्रहरीले एम्बुलेन्स छाडी चालक फरार भएपछि नियन्त्रणमा लिई खानतलासी गरेको जनाएको छ।

खानतलासीका क्रममा एम्बुलेन्सभित्र पाँच वटा बोरामा गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थको तौल तथा थप विवरण भने प्रहरीले अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।

लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भइरहेको छ। फरार रहेका चालकको खोजी तथा पहिचान गर्ने कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।