१४ साउन, काठमाडौं- मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा उनीहरुलाई वीरगंज महानगरपालिका १६ इनर्वाबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा झापा विर्तामोड–९ ठेगाना भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिका-१२ ठेगाना भएकी १९ वर्षीया खुश्बु विश्वकर्मा रहेका छन ।

झापाबाट १६ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा पुऱ्याई बेचबिखन भइरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतीय काउन्टरपार्ट्ससँगको समन्वयमा उनीहरुको उद्धार गरेको

थियो ।

प्रहरीले थप अनुसन्धानको क्रममा उनीहरुले ती किशोरी र युवतीलाई वीरगंजमा अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभनमा पारी वीरगंज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पुर्याउने भन्दै झुक्याई भारत बिहारको छौँडादानो भन्ने स्थानमा लगी भारतकै अन्यत्र पठाउन खोजेको खुल्न आएको जनाएको छ ।

प्रहरीले उनीहरु उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी मानव बेचबिखन कसूरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ

घटनामा संलग्न हाल फरार अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले

जनाएको छ ।