अभिनेत्री सिड्नी स्वीनीलाई प्रस्तुत गरिएको एक विज्ञापनलाई लिएर महिला खेलाडीहरूले आलोचना गरेका छन्।
उनीहरूले विज्ञापनले खेलकुदमा महिलालाई यौनिकरण गरेको बताएका छन्। खेलकुद अनलाइन सट्टेबाजी प्लेटफर्म नोभिगको विज्ञापनमा स्वीनी थोरै वा बिना कपडा देखिएकी छन्।
उनको शरीरका केही भाग फुटबल र अन्य खेलकुद पोशाकले ढाकिएको छ।
चार पटककी ओलम्पिक पौडी स्वर्ण पदक विजेता एरियार्न टिटमसले सामाजिक सञ्जालमार्फत विज्ञापनको आलोचना गर्दै लेखेकी छन्, ‘यो हेर्दा मलाई कति रिस उठ्छ भनेर म वर्णन गर्न सक्दिनँ। हामी कसरी यस्तो संसारमा बाँचिरहेका छौं, जहाँ महिलाको शरीरलाई मुद्रीकरण गर्ने र महिला खेलकुदलाई यौनिकरण गर्ने काम अझै भइरहेको छ?’
बेलायती धावक एमी हन्टले पनि आइतबार हंगेरीको बुडापेस्टमा भएको अल्टिमेट च्याम्पियनसिपपछि स्वीनीलाई सम्बोधन गर्दै भनिन्, ‘सिड्नी स्वीनी, खेलकुदमा महिला यस्तै देखिन्छन्। मांसपेशी, कडा परिश्रम, पसिना, रगत र आँसु।’
पूर्व अमेरिकी जिम्नास्ट ग्रेसी क्रेमरले विज्ञापनलाई क्रोधजनक बताइन्। उनले महिला खेलाडीलाई लामो समयदेखि यौनिकरण गरिँदै आएको भन्दै विज्ञापनप्रति आपत्ति जनाइन्।
चिनियाँ-जर्मन रग्बी खेलाडी सोफी फेलाले पनि विज्ञापन महिला खेलाडीका लागि अपमानजनक भएको बताइन्। नोभिग र स्वीनीका तर्फबाट विज्ञापन विवादबारे कुनै प्रतिक्रिया आएको छैन। एजेन्सी

प्रतिक्रिया