राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवाको भोटेकोशी बाढी पीडितहरूको उद्धार तथा राहतका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

साथै, पार्टीका सम्पूर्ण राजनीतिक तथा साङ्गठनिक गतिविधिहरू अनिश्चितकालका लागि स्थगित गरी सम्पूर्ण शक्ति विपद् व्यवस्थापनमा केन्द्रित गर्ने भएको छ।

चीनको तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिको समीक्षा गर्न बुधबार बसेको पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो।

रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार पार्टीको तर्फबाट सरकारको एकद्वार प्रणालीमार्फत ५० लाख रुपैयाँ राहत कोषमा उपलब्ध गराइनेछ।

राहत वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन एकद्वार प्रणालीबाट मात्र सहयोग गर्न रास्वपाले सबैमा आग्रहसमेत गरेको छ।

विपद् व्यवस्थापनका लागि केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी समिति, सदस्य र शुभचिन्तकहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा ‘र्‍याट’ मार्फत उद्धार कार्यमा खटिन निर्देशन दिइएको छ।

यसको समग्र संयोजनको जिम्मेवारी पूर्व र्‍याट संयोजक आशिष थापालाई तोकिएको छ।

विज्ञप्तिमार्फत रास्वपाले बेपत्ता नागरिकहरूको खोजी तीव्र पार्न, बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलिन नदिन तत्काल विशेषज्ञ स्वास्थ्य टोली परिचालन गर्न र पीडितहरूका लागि दीर्घकालीन पुनःस्थापनाको ठोस कार्ययोजना ल्याउन सरकारसँग माग गरेको छ।

संकटको यस घडीमा आधिकारिक सरकारी सूचनालाई मात्र आधार मान्न र सामाजिक सञ्जालमा भ्रामक समाचार एवं अफवाह नफैलाउन आग्रह गर्दै रास्वपाले प्राकृतिक विपत्तिको सामना गर्न उच्च राष्ट्रिय एकताका साथ सरकार र अन्य सरोकारवालासँग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।