राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोटेकोशी बाढीपीडितका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

भोटेकोशी बाढीपछि बसेको आकस्मिक सचिवालय बैठकले ५० लाख सहयोग गर्ने निर्णय गरेको महामन्त्री विपीनकुमार आचार्यले जानकारी दिए।

चीनको तिब्बत क्षेत्रबाट भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै रास्वपाले बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

यस्तै, रास्वपाले विपद् प्रभावित क्षेत्रमा रहेका नागरिकहरूको तत्काल उद्धार, सुरक्षित आवास, शुद्ध खानेपानी, औषधि तथा खाद्यान्नको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। राहत वितरण पारदर्शी र प्रभावकारी बनाउन सरकारको एकद्वार प्रणालीमार्फत सहयोग गर्न पनि पार्टीले अपिल गरेको छ।

पार्टीले केन्द्रदेखि स्थानीय तहसम्मका आफ्ना समिति, सदस्य तथा शुभेच्छुकहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्दै उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालन हुन निर्देशन दिएको छ।

त्यसैगरी, विपद्को समयमा अफवाह फैलिन नदिन आधिकारिक सरकारी स्रोतबाट जारी सूचनामात्र विश्वास गर्न र सामाजिक सञ्जालमा अपुष्ट सूचना साझा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

नदी किनार तथा पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि पार्टीले अनुरोध गरेको छ।

रास्वपाले प्रभावित क्षेत्रमा सम्भावित महामारी रोकथामका लागि स्वास्थ्य टोली परिचालन गर्न तथा खोज, उद्धार, राहत र दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ।