देशका विभिन्न भागमा डेंगी संक्रमण बढ्न थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार यो वर्षको भदौ पहिलो सातासम्म नौ सय १६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये दुईजनाको मृत्यु भएको छ।

बागलुङमा चार सय ७० जनामा डेगीं संक्रमण पुष्टि भएको छ। संक्रमण दर बढ्दै गएमा जोखिम पनि बढ्ने विज्ञ बताउँछन्। बागलुङ जिल्लामा पनि सदरमुकाममा संक्रमण धेरै फैलिएको महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए।

दाहालका अनुसार बागलुङसहित १० जिल्लामा डेंगी संक्रमण फैलिएको छ। प्राप्त तथ्यांकअनुसार झापामा दुई सय आठजना, सुनसरीमा दुई सय पाँचजना, कास्कीमा एक सय ७८ जना, पाल्पामा एक सय २६ जना, काठमाडौंमा एक सय १५ जना, गोर्खामा इक सय तीनजना, तनहुँमा ९८ जना, रुपन्देहीमा ७८ र ओखलढुंगामा ७६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

डेंगी संक्रमणको जोखिम अझै दुई महिना हुन सक्ने भएकाले सचेत रहन दाहालले सुुझाए। ‘थप एक÷दुई महिना जोखिम रहन्छ। पानी परिरहेको छ। जम्मा भएको सफा पानीमा डेंगी सार्ने लामखुट्टे बस्छ’, उनले भने।

लामखुट्टे वृद्धिचक्रलाई समयमै नियन्त्रण गर्न सके जोखिमबाट बच्न सकिने उनले बताए। उनले भने, ‘घरवरिपरि सरसफाइ गर्ने र लामखुट्टे नष्ट अभियान जारी राख्नु नै यसबाट बच्ने उचित उपाय हो।’

तथ्यांकअनुसार नेपालमा सन् २०२४ पछि डेंगी संक्रमण दरमा कमी देखिएको छ। २०२४ को अगस्टसम्म १२ हजार तीन सय ३२ जना संक्रमित भएका थिए। गत वर्षको अगस्टमा एक हजार एक सय ९७ जना संक्रमित भएका थिए। यो वर्ष नौ सय १६ जना संक्रमित फेला परेका छन्। नेपालमा स्थानीय तह र नागरिक स्तरमा बढेको चेतनासँगै लामखुट्टे नष्ट अभियान तीव्र पारिएकाले डेंगी संक्रमण दरमा कमी देखिएको दाबी दाहालको छ।

कीटविज्ञ शिशिर पन्तले अहिले डेंगी फैलाउने लामखुट्टे वृद्धिका लागि अनुकूल मौसम रहेको बताए। वर्षा भइररहेको छ। वर्षाको पानी भाडा, पोखरीमा जम्मा हुन्छ, जुन लामखुट्टे प्रजननका लागि अनुकूल हुन्छ। ‘असोजसम्म वर्षा हुन्छ। त्यतिबेलासम्म डेंगी फैलिने जोखिम हुन्छ’, उनले भने। डेंगी भाइरस संक्रमित लामखुट्टेले जोखिम बढाउने उनले बताए।