नेपालको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको संरक्षणमा नेपाली सेनाको भूमिका सदैव विशिष्ट र ऐतिहासिक रहँदै आएको छ। नेपालको भू–राजनीतिक संवेदनशीलता, भौगोलिक जटिलता र प्राकृतिक जोखिमबिच सेनाले राज्यको अन्तिम सुरक्षा कवचका रूपमा आफ्नो संवैधानिक दायित्व पूरा गर्दै आएको छ।
नागरिक प्रशासनलाई संकटका बेला सहयोग पुर्याउनेदेखि लिएर कठिन भूगोलमा पूर्वाधार विकास र विपद् व्यवस्थापनमा खटिने प्राथमिक संस्था नै नेपाली सेना हो। यसर्थ, सेना केवल सिमाना रक्षा गर्ने दस्ता मात्र नभई नेपालको स्थायित्व, राष्ट्रिय एकता र राज्य सञ्चालनको मजबुत आधारस्तम्भका रूपमा स्थापित छ।
विश्वमञ्चमा समेत नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यमा खटिएर नेपालको कूटनीतिक साख र छवि उच्च बनाएको छ। प्रकृति तथा जैविक विविधताको संरक्षण, राष्ट्रिय सम्पदाको रक्षा, अतिविशिष्ट व्यक्तिको सुरक्षा र खेलकुद विकासमा सेनाको योगदान अतुलनीय छ। यसका साथै, विकट हिमाली तथा पहाडी भेगमा आकस्मिक हवाई उद्धार र स्वास्थ्य सेवा पुर्याएर सेनाले नागरिक–सैन्य सम्बन्धलाई थप गाढा बनाएको छ। संकटको समयमा अग्रपंक्तिमा उभिएर जनताको जिउधनको रक्षा गर्ने सेनाप्रतिको जनविश्वास नेपालको सामाजिक तथा राजनीतिक संरचनाको एक मह त्त्वपूर्ण जग हो।
यद्यपि, पछिल्लो समय दलीय राजनीति र निहित स्वार्थका कारण राष्ट्रिय सुरक्षाको यो संवेदनशील अंगलाई विवादमा तान्ने प्रयासहरू हुने गरेका छन्। व्यावसायिक स्वायत्तता, संवैधानिक मर्यादा र गैरराजनीतिक चरित्र बोकेको संस्थामाथि तथ्यहीन आरोप लगाउनु वा यसको मनोबल गिराउन खोज्नु अन्ततः राष्ट्रिय हित प्रतिकूल हुन जान्छ। बलियो, आधुनिक र साधन–स्रोत सम्पन्न सेनाले नै देशको स्वाधीनता र आन्तरिक स्थिरताको ग्यारेन्टी गर्छ। त्यसैले, दलहरूले सेनालाई दलीय तानातानभन्दा माथि राखेर यसको गरिमा र उच्च मनोबल कायम राख्नु आजको सर्वोपरि आवश्यकता हो।
बहुआयामिक कार्य र संवैधानिक दायित्व
नेपाली सेनाको प्राथमिक संवैधानिक जिम्मेवारी देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु हो। नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील राष्ट्रका लागि बलियो र सतर्क सुरक्षा संयन्त्र हुनु अपरिहार्य छ। सेनाले सीमा क्षेत्रको निरन्तर अनुगमन र सुरक्षा गर्दै बाह्य खतराहरूबाट राष्ट्रलाई जोगाउने काम गर्छ। यसका साथै देशमा उत्पन्न हुन सक्ने ठुला आन्तरिक संकट वा नागरिक प्रशासनले नियन्त्रण गर्न नसक्ने विषम परिस्थितिमा कानुन बमोजिम आन्तरिक सुरक्षा प्रदान गरी अमनचयन कायम राख्न सेनाको उपस्थिति निर्णायक हुने गर्छ।
भौतिक पूर्वाधार निर्माण र राष्ट्रिय विकासका क्षेत्रमा नेपाली सेनाले पुर्याएको योगदान विशेष उल्लेखनीय छ। काठमाडौं–तराई द्रुतमार्गजस्ता राष्ट्रिय गौरवका आयोजनादेखि दुर्गम पहाडी जिल्लाहरूलाई जोड्ने जटिल सडक तथा पुल निर्माणमा सेनाले अहोरात्र खटिएर काम गरिरहेको छ।
निजी क्षेत्र वा अन्य निकायले काम गर्न कठिन मान्ने भौगोलिक रूपमा दुर्गम र जोखिमपूर्ण क्षेत्रहरूमा सेनाले नै सडक सञ्जाल पुर्याएर देशको आर्थिक तथा सामाजिक एकीकरणमा मह त्त्वपूर्ण भूमिका खेलेको छ। यसले देशको आन्तरिक पहुँचलाई मजबुत बनाउन ठुलो सहयोग पुर्याएको छ।
विपद् व्यवस्थापन, खोज तथा उद्धारकार्यमा नेपाली सेना सधैं नागरिकको भरपर्दो सहारा बनेको छ। भूकम्प, बाढी, पहिरो, आगलागी र अन्य प्राकृतिक वा मानवसिर्जित विपत्तिको समयमा अग्रपंक्तिमा खटिएर जनधनको क्षति न्यूनीकरण गर्न सेनाले प्रस्तुत गर्ने तत्परता प्रशंसनीय छ। यसका साथै विकट क्षेत्रबाट गर्भवती महिला, गम्भीर बिरामी र दुर्घटनामा परेका नागरिकहरूको आकस्मिक हवाई उद्धार गरी जीवन रक्षा गर्ने कार्य सेनाले निरन्तर गर्दै आएको छ। यस्ता मानवीय कार्यहरूले सेना र नागरिकबिचको भावनात्मक सम्बन्धलाई अझ प्रगाढ र विश्वासिलो बनाएको छ।
अन्तर्राष्ट्रिय शान्ति स्थापना र पर्यावरण संरक्षणका क्षेत्रमा सेनाको पहिचान विश्वव्यापी बनेको छ। संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर विश्वका अति द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति बहाली गर्न नेपाली सेनाले देखाएको व्यावसायिकता र अनुशासनले नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक साख अभिवृद्धि गरेको छ।
त्यसैगरी, देशभित्रका राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षहरूको कडा सुरक्षा गरी दुर्लभ वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न सेना खटिएको छ। पछिल्लो समय सञ्चालन हुँदै आएको ‘हिमाल सफाइ अभियान’ले वातावरण संरक्षण र पर्यटन प्रवर्धनमा नयाँ आयाम थपेको छ।
यसबाहेक, राष्ट्रिय धरोहरको रक्षा, अतिविशिष्ट व्यक्तिहरूको सुरक्षा र खेलकुदको विकासमा समेत सेनाको बहुआयामिक उपस्थिति रहेको छ। पुराना गढी, किल्ला, दरबार र ऐतिहासिक मह त्त्वका स्थलहरूको संरक्षण गर्दै सेनाले राष्ट्रिय इतिहासको जगेर्ना गरिरहेको छ।
राष्ट्रिय सम्पत्ति, जलविद्युत् आयोजना र विमानस्थल जस्ता संवेदनशील पूर्वाधारको सुरक्षा गर्नुका साथै निष्पक्ष निर्वाचन सम्पन्न गराउन सुरक्षा सहयोग पुर्याउने काम सेनाले गर्छ। खेलकुदका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिभावान खेलाडी उत्पादन गरी देशको मान बढाउन पनि सेनाको उत्तिकै ठुलो योगदान छ।
राजनीतिक हस्तक्षेपका कारणहरू
नेपाली सेना एक निष्पक्ष, अनुशासित र गैरराजनीतिक संस्था भएकाले यसले कुनै पनि दलीय भागबन्डा वा गैरसंवैधानिक निर्देशन सोझै मान्दैन। कतिपय दल वा समूहहरू सुरक्षा निकायलाई आफ्नो राजनीतिक प्रभाव र नियन्त्रणमा राख्न चाहन्छन्। जब सेना आफ्नो व्यावसायिक मर्यादा र संवैधानिक दायरामा दृढ रहन्छ, तब दलीय एकाधिकार स्थापित गर्न नसकेका शक्तिहरूले सेनाको आलोचना गर्ने र यसलाई विवादमा तान्ने रणनीति अपनाउँछन्। नागरिक सर्वोच्चताको तोडमोड व्याख्या गरेर सेनाको स्वायत्ततामाथि प्रहार गर्ने कोसिस यसैको उपज हो।
आफ्नो शासनकालको असफलता, खराब शासन र भ्रष्टाचारबाट जनताको ध्यान मोड्नका लागि कतिपय राजनीतिज्ञहरूले संवेदनशील संस्थाहरूलाई निशाना बनाउने गर्छन्। सरकार वा दलहरूको कार्यशैलीप्रति जनतामा उत्पन्न भएको असन्तोषलाई अन्तै मोड्न राष्ट्रिय सुरक्षाको अन्तिम स्तम्भमाथि प्रश्न उठाउने प्रवृत्ति देखिन्छ।
यसबाहेक, राज्य संयन्त्रमा समानान्तर सत्ता वा अनधिकृत शक्ति अभ्यास गर्न चाहने समूहहरूका लागि निष्पक्ष र बलियो सेना मुख्य बाधक बन्न पुग्छ। फलस्वरूप, यस्ता समूहहरूले योजनाबद्ध रूपमा सेनाको मनोबल र छवि धमिल्याउने प्रयास गर्छन्। राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको जगका रूपमा रहेको सेनालाई कमजोर बनाउनु भनेको देशलाई विखण्डनकारी र अराजक त त्त्वहरूको हातमा सुम्पनु सरह हो। यस्ता राजनीतिक तथा दलीय स्वार्थले राष्ट्रिय सुरक्षाको दीर्घकालीन हितलाई गम्भीर जोखिममा पार्ने निश्चित छ।
सुरक्षा सुदृढीकरण र भावी दिशा
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र आन्तरिक स्थिरताको रक्षाका लागि राष्ट्रिय सेनाको मनोबल उच्च राख्नु र यसलाई राजनीतिभन्दा माथि राख्नु अपरिहार्य छ। लोकतन्त्रमा नागरिक सर्वोच्चताको सिद्धान्त सर्वमान्य हुन्छ तर नागरिक सर्वोच्चताको नाममा सेनाको व्यावसायिक स्वायत्तता, संरचना र मर्यादामाथि अनैतिक दलीय हस्तक्षेप हुनुहुँदैन। राजनीतिक दलहरूले सेनालाई आफ्नो दलीय स्वार्थ, भागबन्डा र सस्तो लोकप्रियताको हतियार बनाउने खेल तत्काल बन्द गर्नुपर्छ। संवैधानिक दायराभित्र रहेर सेनालाई आफ्नो कर्तव्य पालना गर्न दिनु नै परिपक्व राजनीतिको परिचय हो।
बदलिँदो क्षेत्रीय तथा विश्वव्यापी सुरक्षा चुनौतीहरूलाई ध्यानमा राख्दै नेपाली सेनाको आधुनिकीकरणमा जोड दिनु आजको आवश्यकता हो। सेनालाई अनावश्यक राजनीतिक विवादमा तान्नुको सट्टा आधुनिक हतियार, प्रविधि, सञ्चार साधन र पर्याप्त स्रोत–साधनले सम्पन्न बनाउन राज्यले प्राथमिकता दिनुपर्छ।
राष्ट्रिय सुरक्षा, सीमा रक्षा र सेनाको सुदृढीकरणजस्ता दीर्घकालीन मह त्त्वका विषयमा सम्पूर्ण दलबिच साझा न्यूनतम समझदारी र राष्ट्रिय सहमति कायम हुनुपर्छ। सुरक्षा नीतिमा दलीय मतभेद हुनुले राष्ट्रिय हितलाई नै कमजोर तुल्याउँछ।
नागरिक–सैन्य सम्बन्धलाई अझ पारदर्शी, सुदृढ र विश्वासिलो बनाउन रचनात्मक पहलहरू हुनुपर्छ। सेना र नागरिक समाजबिच अविश्वास बढाउने खालका भ्रामक प्रचार–प्रसार र प्रायोजित आरोपहरूलाई रोक्न सञ्चार माध्यम र नागरिक समाजले पनि परिपक्व भूमिका खेल्नुपर्छ। सेनासम्बन्धी छलफल, अनुगमन र नियमनका लागि संसदीय समिति तथा संवैधानिक निकायहरू तोकिएका छन्। कुनै असन्तुष्टि वा प्रश्न भए तिनै कानुनी र संसदीय दायराको पालना गरिनुपर्छ।
सेनाले विकास निर्माण र विपद् व्यवस्थापनमा पुर्याएको योगदानको अवमूल्यन नगरी यसको कदर गर्ने संस्कृति बसाल्नुपर्छ। संयुक्त राष्ट्रसंघमार्फत विश्व शान्तिमा नेपाली सेनाले आर्जन गरेको उच्च छवि र अन्तर्राष्ट्रिय साखमा आँच आउने खालका गतिविधिहरू रोक्नुपर्छ। राष्ट्रको अन्तिम सुरक्षा अंगलाई कमजोर बनाउनु प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राष्ट्रघात सरह हुने भएकाले बाह्य प्रभाव र दलीय स्वार्थबाट मुक्त भएर राष्ट्रिय दृष्टिकोण निर्माण गरिनुपर्छ।
– कार्की नेपाली सेनाका अवकाशप्राप्त उपरथी हुन्।

प्रतिक्रिया