सरु संगीत घर, टिकाथली, ललितपुरले वरिष्ठ गायिका श्रीमती मिरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार-२०८३ को अर्पण गर्ने निर्णय गरेको छ।
गायिका राणाले छ दशकदेखि नेपाली आधुनिक गीत संगीतका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो।
पुरस्कृत व्यक्तित्व छनौटका लागि संगीतकार कोमल निरौलाको संयोजक तथा सदस्यहरू वरिष्ठ गायक संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, लेखक डा. रत्नमणि नेपाल तथा सदस्य सचिव डेनी निरौलाको एक स्वतन्त्र छनौट समितिले गायिका राणाको नाम पुरस्कारका लागि सर्वसम्मत चयन गरेको हो।
यो पुरस्कार पाउने राणा दोस्रो साधक हुन्। यसअघि २०८२ सालमा प्रसिद्ध लोकगायिका कविता आलेलाई पहिलोपटक सरु संगीत राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो।
संस्थाका सदस्य सचिव डेनी निरौलाकाे अनुसार पुरस्कारको राशि २५,५०५/- (अक्षेरेपी पच्चिस हजार पाँच सय पाँच रुपैयाँ मात्र) छ। हरेक वर्ष प्रदान गरिने उक्त पुरस्कार स्थापनार्थ पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ।
सरु संगीत पुरस्कारको स्थापना स्व. सरस्वती निरौलाको स्मृतिमा उनका श्रीमान् संगीतकार कोमल निरौला, श्रीमती इन्दिरा निरौला, छोरा संगीतकार डेनी निरौला, श्रीमती सविता नेपाल निरौला, संगीतकार भिषण निरौला श्रीमती सिर्जना अधिकारी, छोरी गायिका झुमा निरौला तथा श्रीमान् सविन भट्टराईको संयुक्त प्रयासमा २०८२ सालमा स्थापना भएको हो।
स्वदेश तथा विदेशमा रहेर नेपाली गीतसंगीतका क्षेत्रमा विशिष्ट योगदान गरेको चालिस वर्ष उमेर पुगेको जोसुकै नेपाली महिला यस पुरस्कारका लागि योग्य हुनेछन्। यो पुरस्कार २०८३ असोज १० गते सरु संगीत घरको छैटाैं वार्षिक कार्यक्रममा प्रदान गरिने छ।
ललितपुरको महालक्ष्मीनगरपालिका वडा नं ५ मा रहेको सरु संगीत घरले छ वर्षदेखि संगीतका क्षेत्रमा सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ। यस विद्यालयमा गायन र वाद्यवादन लगायतका विधामा १०० जति विद्यार्थीहले कक्षा लिइरहेका छन्।

प्रतिक्रिया