देशका विभिन्न भागमा गत वैशाखयता एक हजार ४८ जना सर्पदंशमा परेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सर्पले डसेकामध्ये ७० जनाको मृत्यु भएको छ।

गत आर्थिक वर्ष (२०८२/८३) मा १० हजार १४४ जनालाई सर्पले डसेको तथ्यांक छ। आर्थिक वर्ष २०८१/८२ मा यो संख्या ८ हजार ११८ थियो। आर्थिक वर्ष २०७९/८० मा ९ हजार १२० जनालाई सर्पले डसेको अभिलेख। गत आर्थिक वर्षमा सबैभन्दा बढी कोसी प्रदेशमा दुई हजार ९८३ जना सर्पदंशमा परेका थिए। यो सरकारी तथ्यांक मात्र हो।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नेफ्रोलोजिस्ट तथा सर्पदंश विज्ञ प्राध्यापक डा. सञ्जीव शर्माका अनुसार नेपालमा सर्पले डस्नेको संख्या सरकारी अभिलेखभन्दा बढी भएको बताउँछन्। प्राध्यापक शर्माका अनुसार सर्पदंशका कारण अस्पतालबाहिर हुने मृत्युको तथ्यांक अस्पतालसँग हुँदैन र अन्य निकायले पनि राखेका हुँदैनन्। कतिपय घरेलु उपचारमा अल्झिएका छन्।

यस कारण सर्पदंशबाट प्रभावित संख्या सरकारी तथ्यांकभन्दा दोब्बर हुन सक्ने उनको अनुमान छ। सन् २०२२ मा भएको बृहत् सर्वेक्षणअनुसार नेपालमा प्रतिवर्ष ३० हजार जनामा सर्पदंश हुने र करिब ३ हजार जनाको मृत्यु हुन्छ। शर्माका अनुसार नेपालमा बढी मात्रामा गरिब र किसान वर्ग सर्पदंशबाट प्रभावित भएको अध्ययनले देखाएका छन्। घाँस, दाउरा गर्न जाने, खेतबारीमा काम गर्ने किसान, मजदुर, गरिब सर्पको डसाइमा पर्ने गरेको उनी बताउँछन्। उनीहरू बस्ने घर र काम गर्ने स्थल सर्पदंशका हिसाबले जोखिमयुक्त छन्।

विशेषगरी तराईका जिल्लामा भुइँमा सुत्ने, घाँस–दाउरा गर्न जंगल जाने, झुलबिना सुत्ने र कच्ची घरमा बस्ने नै सर्पदंशको बढी मारमा छन्। गोठमा काम गर्दा, पराल निकाल्दा, दाउरा निकाल्दा पनि सर्पदंश हुन्छ। खेतबारीमा काम गर्दा सावधानी नअनाउँदा पनि सर्पदंशमा परिन्छ। मुसाको वा कुनै पनि दुलो, घाँस, दाउराभित्र सर्प बस्छ। पानी परेका बखत ओभानो र र खानाको खोजीमा सर्प घरभित्र पस्छ।

शर्माका अनुसार तराई भेगमा करेत र गोमन प्रजातिका अतिविषालु सर्प पाइन्छन्। यी सर्पको डसाइबाट मानिसको मृत्युसम्म हुन्छ। विषालु सर्पले डसेको मानिसलाई एक घण्टाभित्र उपचार केन्द्रमा पुर्‍याएमा एन्टिभेनम औषधि दिएर बचाउन सकिने उनी बताउँछन्। धेरैजसो मानिसमा सर्पदंश उपचार केन्द्रमा पुग्दैनन्, पुगे पनि ढिलो पुग्छन्। उपचार केन्द्रमा पुग्न ढिला हुँदा ज्यान जान्छ।

‘सर्पले डसेको एक घण्टाभित्र उपचार केन्द्रमा पुग्नुपर्छ, ढिलो भएमा विषले शरीरका नसा निस्क्रिय बनाउँछ र मृत्यु हुन्छ’, शर्मा भन्छन्। सर्पले टोकेपछि आत्तिएर टोकेको भन्दा माथिको भाग बेस्सरी बाँध्दा, आफूखुशी उपचार गर्दा पनि ज्यान तलमाथि पर्न सक्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रकोप व्यवस्थापन संयोजक डा. अमृत पोखरेलका अनुसार सर्पदंशबाट मृत्यु हुनेमा धेरैजसो उपचारमा ढिला पुग्ने र जनचेतना कमी भएको समुदायका छन्।

सरकारले देशका विभिन्न एक सय स्थानमा सर्पदंश उपचार केन्द्र विस्तार गरेको छ। सरकारले सर्पदंशविरुद्ध जनचेतनामूलक अभियान पनि अघि बढाएको छ। जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, प्रादेशिक अस्पताललगायतमा सर्पदंशको उपचार हुन्छ। सरकारी स्तरमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत तराईका पाँच वटा भाषामा जनचेतनासम्बन्धी कार्यक्रम स्थानीय सञ्चारमाध्यमबाट प्रचारप्रसार भइरहेको छ। स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रबाट पनि सर्पदंशबाट बच्ने उपाय र उपचारबारे सूचना प्रचारप्रसार भइरहेको महाशाखाले जनाएको छ।

सर्पदंशबाट बच्ने उपाय:

झुल लगाएर सुत्ने

मुसाको वा कुनै पनि दुलोमा हात नहाल्ने

दाउरा या घाँस झिक्नुअघि विचार पुर्‍याउने

खेतबारीमा काम गर्न जाँदा सुरक्षित जुत्ता लगाउने

घाँस काट्दा सावधानी अपनाउनुपर्ने

राति घरबाहिर निस्कँदा टर्च र र बुट लगाउने