बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पीडित परिवारलाई न्याय दिलाउन सरकारले पहल थालेको छ। घटनाको अनुसन्धान र परिवारका मागबारे छलफल गर्न गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकारका प्रतिनिधि र गरिमाका आमा-बुबाबीच शुक्रबार गृहमन्त्रालयमा वार्ता भएको हो।

वार्तामा गरिमाका बुबा मनोज चौधरी र आमा मानमती चौधरीसहित परिवारका सदस्य तथा स्थानीय अभियन्ताको सहभागिता थियो। गृहमन्त्री गुरुङसँगै कृषिमन्त्री गीता चौधरी र कानुनमन्त्री सोविता गौतम पनि छलफलमा सहभागी भएका छन्।

छलफलमा गरिमा हराएदेखि प्रहरीले गरेको खोजी तथा अनुसन्धान, परिवारले दिएको जाहेरी, शव फेला परेको अवस्था, घटनाको अनुसन्धानको पछिल्लो प्रगति तथा दोषीमाथि कानुनी कारबाहीलगायत विषयमा कुराकानी भएको बताइएको छ।

सरकारसँग वार्ता गर्न गरिमाका बुबा मनोज र आमा मानमती शुक्रबार दिउँसो सिमरा विमानस्थलबाट काठमाडौं आएका थिए। उनीहरूसँगै घटनामा न्यायको माग गर्दै आएका केही स्थानीय अभियन्ता पनि काठमाडौं आएका छन्।

सडकदेखि सरकारसम्म न्यायको माग

गरिमाको बलात्कारपछि हत्या भएको घटनापछि दोषीलाई कडा कारबाही र घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै स्थानीयस्तरमा निरन्तर खबरदारी हुँदै आएको छ। परिवार र स्थानीयले सडक प्रदर्शनमार्फत घटनाको अनुसन्धानमा कुनै कमजोरी हुन नदिन र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

गरिमाका आमा-बुबाले छोरी गुमाउनुको पीडासँगै न्यायको माग गर्दै सडकदेखि राज्यका सम्बन्धित निकायसम्म आवाज उठाइरहेका छन्। उनीहरूले घटनामा संलग्न दोषीलाई कडा कारबाहीसँगै अनुसन्धानका क्रममा भएका कमजोरी भए त्यसको समेत छानबिन हुनुपर्ने माग राख्दै आएका छन्।

साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएकी गरिमाको शव खोजीका क्रममा भदौ २ गते घरनजिकैको एक घरमा फेला परेको थियो। शव विभत्स अवस्थामा फेला परेपछि घटना थप गम्भीर बनेको थियो।

घटनापछि स्थानीय, राजनीतिक दल तथा विभिन्न संघसंस्थाले दोषीलाई कडा कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन र खबरदारी गर्दै आएका छन्।