आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३७ वर्षीय नविन लामा र सल्यानको शारदा नगरपालिका–२ घर भई हाल काठमाडौं–३२ मै बस्ने ५० वर्षीय रमेश रेउले रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले लामालाई काठमाडौं महानगरपालिका–२६ बाट र रेउलेलाई वडा नं २९ बाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार नविनले मलेसिया पठाइदिने भन्दै ३ जना पीडितबाट १४ लाख रुपैयाँ र रमेशले अमेरिका पठाइदिने प्रलोभन देखाएर १ जना पीडितबाट ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूको किटानी उजुरीका आधारमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया