नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाअधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तनको पक्षमा आफूहरू नरहेको बताएका छन्।
शनिबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो बताएका हुन्। ‘संस्थागत प्रक्रियाभन्दा बाहिरबाट नेतृत्व परिवर्तनको पक्षमा आफूहरू छैनौँ,’ पोखरेलले भने, ‘पार्टीको महाअधिवेशन र नेतृत्व परिवर्तनको विषय सामाजिक सञ्जालले तय गर्दैन।’ पोखरेलले कतिबेला एमालेको महाअधिवेशन हुन्छ भन्ने विषय एमालेको केन्द्रीय कमिटीले निर्णय गर्ने बताए।
सो अवसरमा उनले विगतमा भएका गोली प्रहारलगायतका घटनामा सरकारको नेतृत्व जिम्मेवार हुने भाष्य सिर्जना गर्दै सरकारमा पुगेकाहरूले अहिले भइरहेका गोली प्रहार र हत्याका घटनाको जिम्मेवारी लिनुपर्ने कि नपर्ने भन्दै प्रश्नसमेत गरे। पोखरेलले प्रधानमन्त्रीको व्यवहारका कारण राष्ट्र र लोकतन्त्र नै संकटमा परेको दाबी गरेका छन्।
पोखरेलले प्रधानमन्त्री लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको आरोप पनि लगाए। उनले नयाँ सरकार गठन भएपछि व्यवसायी सन्त्रासमा रहेका कारण लगानीको वातावरण खलबलिएको आरोप लगाएका छन्।
ब्याजदर घटे पनि लगानी नबढेका कारण मुलुक वित्तीय संकटतर्फ उन्मुख हुँदै गएको पोखरेलको भनाइ छ। उनले जनआदेशबाटै नयाँ सरकार आएको भए पनि जनताको भरोसा बन्न नसकेको टिप्पणी गरेका छन्।

प्रतिक्रिया