पोखरामा ठूलो मात्रामा लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्। पोखरा महानगरपालिका-१८ अँधेरीकुनाका अनुप छत्कुलीलाई कास्की प्रहरीले एक सय एमजीको टापेन्टाडोल ११ हजार ७ सय ६८ थान चक्कीसहित पक्राउ गरेको हो।
गोप्य सूचनाको आधारमा गएको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त प्रहरी टोलीले भदौ ४ गते राति पौने १० बजेको समयमा घर खानतलासी गरी औषधिसहित उनलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ।
झोलाभित्र लुकाइराखेको अवस्थामा सो लागूऔषध बरामद गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। ‘लागूऔषध बिक्रीवितरण गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी पुगेको थियो,’ उनले भने, ‘नभन्दै घर तथा कोठा खानतलासी गर्दा ठूलो मात्रामा लागूऔषध भेटियो।’
पक्राउ परेका व्यक्ति लागूऔषध कारोबारमा पक्राउ पर्ने पटके भएको खुलेको छ। उनलाई बैदाम प्रहरीले २०७१ साल पुस ९ गते सार्वजनिक अपराधसम्बन्धी कसुरमा र जिल्ला प्रहरी कार्यालय कास्कीले २०८१ साल माघ १३ गते लागूऔषधसम्बन्धी कसूरमा पक्राउ गरेको सिआरएसबाट खुल्न आएको डिएसपी पासवानले जानकारी दिए। त्यसबाहेक बैदाम प्रहरीले थप दुईवटा लागूऔषध कसुरमा फरार भएको भनी जानकारी दिएको पनि उनले बताए।
पक्राउ परेका छत्कुलीलाई कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान जारी राखेको डिएसपी पासवानले जानकारी दिए।

प्रतिक्रिया