म्यानमारको एक बौद्ध गुम्बामा हवाई आक्रमण हुँदा १४ जनाको मृत्यु भएको छ। मानिसहरू ध्यानका लागि भेला भइरहेको समयमा सेनाले गरेको हवाई आक्रमणमा उनीहरूको ज्यान गएको विद्रोही लडाकुहरूले बताएका छन्।
घटना मध्य सागिङ क्षेत्रको म्याउङ नगरमा भएको हो। बिहानको समयमा भएको आक्रमणमा परी ११ पुरुष र ३ महिलाको मृत्यु भएको छ। उनीहरू ५० देखि ७० वर्ष उमेर समूहका थिए।
बौद्ध परम्पराअनुसार तीन महिनाको ध्यानका लागि भेला भएका वृद्ध मानिसहरू आक्रमणको चपेटामा परेका हुन्। स्थानीय एक लडाकु समूहका अनुसार उद्धारको प्रयास भइरहेका बेला पुनः दोस्रो पटक आक्रमण भएकाले मानवीय क्षति धेरै भएको हो।
यसबारे सेनाको धारणा बुझ्न तत्काल सम्भव भएको छैन। यद्यपि, सेनाले विद्रोहीलाई लक्षित गरी रूसी र चिनियाँ जेट विमानहरूको प्रयोग गर्ने गरेको विश्लेषकहरू बताउँछन्।
संयुक्त राष्ट्र संघका अनुसन्धानकर्ताहरूले सेनाले जानाजानी सर्वसाधारण र मठ-मन्दिरलाई लक्षित गरी आक्रमण गरिरहेको आरोप लगाउँदै आएका छन्। यता, म्यानमारको सरकारले भने यस्ता आरोपलाई गलत र एकतर्फी भन्दै खण्डन गर्दै आएको छ।
सन् २०२१ मा आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि म्यानमारमा गृहयुद्ध जारी छ। विगत पाँच वर्षमा सेना र विद्रोही समूहबिचको लडाइँमा एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको अनुमान छ।
सन् २०२६ को सुरुमा सेनाले गराएको चुनावपछि मिन आङ ह्लाइङले राष्ट्रपतिको पदभार सम्हालेका छन्। उनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न कूटनीतिक प्रयास गरिरहेका छन्।
भारत, चीन, थाइल्यान्डलगायतका देशले उनलाई समर्थन जनाएका छन् भने रूस र बेलारूस सैन्य सरकारका प्रमुख सहयोगीका रूपमा रहेका छन्। प्रजातन्त्रवादी विश्लेषकहरूले भने यो चुनावी प्रक्रियालाई सैन्य शासन टिकाउने हतियार भन्दै विरोध गर्दै आएका छन्। एजेन्सी

प्रतिक्रिया