नेकपाका संयोजक पुष्पकमल दाहालले बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
दाहालले घटनालाई हृदयविदारक र स्तब्ध पार्ने जघन्य अपराध भन्दै यस्ता घटना कुनै पनि सभ्य र संवेदनशील समाजका लागि स्वीकार्य हुन नसक्ने बताएका छन्।
‘बाराको सिमरामा बलात्कारपछि बिभत्स रूपमा हत्या गरिएकी तीन वर्षीया अबोध बालिका गरिमा चौधरीको हृदयविदारक घटनाले हामी सबैलाई स्तब्ध र आक्रोशित बनाएको छ। यस्ता जघन्य अपराध कुनै पनि सभ्य र संवेदनशील समाजका लागि कदापि स्वीकार्य हुन सक्दैनन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
गरिमाका लागि न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा युवाहरूले उठाएको आवाजप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको दाहालले बताए।
उनले गरिमामाथिको अपराध एउटा परिवारमाथिको पीडामा मात्र सीमित नभई राज्य, समाज र न्याय प्रणालीमाथि नै गम्भीर प्रश्न भएको उल्लेख गरेका छन्। छोरीहरूलाई भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व भएको उनको भनाइ छ।
‘गरिमामाथिको अपराध केवल एउटा परिवारमाथिको पीडा होइन, यो हाम्रो राज्य, समाज र न्याय प्रणालीलाई नै गम्भीर प्रश्न हो,’ उनले भने, ‘हाम्रा छोरीहरू भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व हो।’
दाहालले घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचका आधारमा उन्मुक्ति नदिन सरकारसँग जोडदार माग गरेका छन्। उनले दोषीमाथि कडा कानुनी कारबाही गर्नसमेत आग्रह गरेका छन्।
उनले भने, ‘त्यसैले यस घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचको आडमा उन्मुक्ति नदिई कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु।’

प्रतिक्रिया