त्रियुगा नगरपालिका–१०, बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयमा लामो समयदेखि चलिरहेको प्रशासनिक विवादले विद्यालयको शैक्षिक वातावरण प्रभावित भएको छ। विवादका कारण दुई जना उपसचिवस्तरका शिक्षक विद्यालयमा नियमित हाजिर गर्दै आए पनि प्रभावकारी जिम्मेवारीविहीन छन्। एक जना प्राथमिक तहका शिक्षकले भने निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका छन्।

माध्यमिक तहका अंग्रेजी शिक्षक जंगबहादुर खड्का ‘जेबी सर’ तीन महिनाअघि प्रधानाध्यापक पदबाट निलम्बित भएपछि विद्यालयमा हाजिर गर्ने र अधिकांश समय परिसरमै बिताउने अवस्थामा छन्। उनी कक्षामा अध्यापन गरिरहेका शिक्षक तथा सहकर्मीसँग भेटघाट गर्दै समय बिताउँछन्। अर्का माध्यमिक तहका नेपाली शिक्षक विदुर खड्का पनि १५ महिनादेखि विद्यालयमा हाजिर गर्नुबाहेक जिम्मेवारीविहीन छन्।

यो अवस्था त्रियुगा नगरपालिकाको निर्णय, शिक्षकको असहमति र अदालतमा विचाराधीन मुद्दाको परिणाम हो। ०८१ चैत २९ गते बसेको नगर कार्यपालिका बैठकले दशकदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका जेबी खड्कालाई अन्यत्र सरुवा गर्दै उनको स्थानमा त्रियुगा नमुना माध्यमिक विद्यालयका विदुर खड्कालाई सरुवा तथा प्रधानाध्यापकका रूपमा पदस्थापन गर्ने निर्णय गरेको थियो।

नगरको निर्णयविरुद्ध जेबी खड्का उच्च अदालत विराटनगर पुगे। अदालतले अन्तरिम आदेश दिएपछि सरुवा कार्यान्वयन रोकियो। यसबीच विदुर खड्का बालमन्दिरमा हाजिर भइसकेका थिए। तर अदालतको आदेशका कारण उनले प्रधानाध्यापकको जिम्मेवारी पाउन सकेनन्। फलतः एउटै विद्यालयमा दुई जना प्रधानाध्यापकको दाबी देखिने र एक जना जिम्मेवारीविहीन हुने अवस्था सिर्जना भयो।

विवादकै क्रममा नगरपालिकाले जेबी खड्कामाथि आर्थिक अनियमितता तथा विद्यालयको सम्पत्ति हिनामिनासम्बन्धी आरोप लगाउँदै आन्तरिक छानबिन गर्नुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म विषय पुर्‍याएको थियो। खड्काले भने आफूविरुद्ध आधारहीन आरोप लगाएर दुःख दिइएको दाबी गर्दै कानुनी उपचार खोज्दै आएका छन्।

लामो समयसम्म विवाद समाधान नभएपछि नगर कार्यपालिकाले ०८२ चैत १७ गते खड्कालाई प्रधानाध्यापकबाट हटाउने निर्णय गर्दै विद्यालयकै प्राथमिक तहका शिक्षक प्रल्हाद खतिवडालाई निमित्त प्रधानाध्यापक तोकेको थियो। यससँगै बालमन्दिरमा तीन जना प्रधानाध्यापक रहेको जस्तो असामान्य अवस्था बनेको छ—जेबी खड्का आफूलाई अझै प्रधानाध्यापक मान्छन्, विदुर खड्का नगरको निर्णयअनुसार प्रधानाध्यापकका रूपमा सरुवा भएका थिए भने खतिवडा निमित्त प्रधानाध्यापकको जिम्मेवारीमा छन्। पछिल्लो निर्णयविरुद्ध पनि जेबी खड्का अदालत पुगेका छन्।

बालमन्दिरमा हाल शिशुदेखि कक्षा १२ सम्म नेपाली र अंग्रेजी माध्यममा पढाइ हुँदै आएको छ। विद्यालयमा १ हजार ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। अंग्रेजी र नेपाली विषयका विज्ञ तथा उपसचिवस्तरका दुई शिक्षक नै जिम्मेवारीविहीन हुँदा विद्यार्थीको पठनपाठन र विद्यालयको शैक्षिक गुणस्तरमा असर परेको अभिभावकहरूको गुनासो छ।

जेबी खड्का आफू प्रधानाध्यापक बनेपछि विद्यालयको विद्यार्थी संख्या र शैक्षिक अवस्था सुधार भएको दाबी गर्छन्। उनका अनुसार आफू प्रधानाध्यापक हुँदा करिब ४०० विद्यार्थी रहेको विद्यालयमा अहिले १ हजार ३०० भन्दा बढी विद्यार्थी पुगेका छन्। उनले नगर जनप्रतिनिधिसँगको विवादका कारण आफ्नो विज्ञता र अनुभव उपयोग हुन नसकेको गुनासो गरे।

विदुर खड्काको पनि उस्तै पीडा छ। त्रियुगा माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापकका रूपमा अध्यापन तथा प्रशासनिक जिम्मेवारी सम्हालिरहेका उनलाई बालमन्दिरमा प्रधानाध्यापक बनाउने भन्दै सरुवा गरिएको थियो। तर १५ महिनासम्म जिम्मेवारी नपाउँदा आफू अन्योलमा परेको उनले बताए। लामो समय तलबसमेत नपाएको उनको गुनासो छ। उनका अनुसार ०८१ चैतदेखि ०८३ वैशाखसम्मको १४ महिनाको तलब गत असारमा मात्र पाएका हुन्।

निमित्त प्रधानाध्यापक खतिवडाले भने विवादले विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधि कसैलाई पनि फाइदा नभएको बताए। प्राथमिक तहका शिक्षकले उपसचिवस्तरका दुई शिक्षकलाई जिम्मेवारीविहीन अवस्थामा राखेर विद्यालयको प्रशासनिक तथा शैक्षिक नेतृत्व गर्नुपर्दा आफूलाई असहज लागेको उनको भनाइ छ।

नगरपालिकाले भने विद्यमान ऐन, कानुन तथा शिक्षा नियमावलीअनुसार शिक्षकको सरुवा गरिएको दाबी गरेको छ। नगर उपप्रमुख महेश्वरी राईले नगर कार्यपालिकाको निर्णय नमानेकै कारण समस्या लम्बिएको बताइन्। नगरप्रमुख बसन्त बस्नेतले पनि शैक्षिक सुधार, प्रशासनिक व्यवस्थापन तथा नियमित सरुवा प्रक्रियाअनुसार गरिएको निर्णय कार्यान्वयन हुनुपर्ने अडान दोहोर्‍याएका छन्।

विद्यालय, शिक्षक र स्थानीय सरकारबीचको विवाद अदालतमा विचाराधीन रहेकाले यसको अन्तिम निकास अदालती फैसलापछि मात्रै स्पष्ट हुने देखिन्छ। तर, निर्णय र प्रतिरोधको लामो शृंखलाले बालमन्दिर माविको शैक्षिक वातावरण भने निरन्तर प्रभावित भइरहेको छ।