तिला पावर कम्पनीद्वारा प्रवर्द्धित ४ सय २० मेगावाट क्षमताको तिला-२ जलविद्युत आयोजनाका लागि एभरेस्ट बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता सम्पन्न भएको छ।
कालीकोटमा निर्माण हुने आयोजनामा लगानी गर्ने कर्न्सोटियम बैंकहरूमा सहअगुवाका रूपमा सानिमा बैंक छ भने प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक, र ग्लोबल आईएमई बैंक को लिड बैंक छन्। त्यसैगरी सहभागी बैंकमा सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक छन्।
उक्त आयोजना अन्तर्गत कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा बाँध तथा खाँडाचक्र नगरपालिकामा विद्युत् गृह निर्माण गरिने छ। दैनिक ६ घण्टासम्म पिकिङ अवधारणामा सञ्चालन गर्न सकिने अर्धजलाशययुक्त पीआरओआर प्रकृतिको आयोजनाको कुल लागत ७० अर्ब ७ करोड बराबर छ।
कुल लागतको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड बैंक तथा वित्तीय संस्थाबाट ऋणका रूपमा जुटाइने छ भने बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड स्वपूँजीबाट व्यवस्थापन गरिने छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत सेयर समेत छुट्याएको छ। आयोजनाले ७ भदौ २०७५ मा विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति प्राप्त गरिसकेको छ भने ७ कात्तिक २०८१ मा नेपाल विद्युत् प्राधिकरणसँग २९६.७४ मेगावाट क्षमताका लागि विद्युत् खरिद बिक्री सम्झौता पीपीए सम्पन्न गरेको छ।
आयोजना निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। सञ्चालनमा आएपछि सुक्खायाममा दैनिक ६ घण्टा पिकिङ क्षमतामा सञ्चालन हुने यो आयोजनाबाट कुल वार्षिक २३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन हुने र त्यसमध्ये सुक्खायामको पिक समयमा ४५१.०५ गिगावाट आवर, अफ पिक समयमा २०५.४५ गिगावाट आवर र वर्षायाममा १६६२.२९ गिगावाट आवर उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ।
लगानी सम्झौता सम्पन्न भएसँगै आयोजनाको वित्तीय व्यवस्थापनको महत्त्वपूर्ण चरण पूरा भएको छ। उच्च माग हुने समयमा विद्युत् उत्पादन गर्न सक्ने प्रकृतिको यस आयोजनाले राष्ट्रिय विद्युत् प्रणालीको आपूर्तिमा थप योगदान पुर्याउने विश्वास गरिएको छ। यस आयोजनाका मुख्य प्रवर्द्धकमा स्ट्रिम इन्भेस्टमेन्ट, ऊर्जा इम्प्याक्ट फन्ड, रविन्स यूएसए लगायत संस्थागत तथा व्यक्तिगत लगानीकर्ता छन्।

प्रतिक्रिया