एम्स्टर्डममा जारी हक्की विश्वकपअन्तर्गत पूल ‘डी’ मा वेल्स र पाकिस्तानले रोमाञ्चक खेलमा ३–३ गोलको बराबरी खेलेका छन्।

बराबरीपछि दुवै टोलीले दुई खेलबाट एक–एक अंक जोडेका छन् र दोस्रो चरण पुग्ने सम्भावना कायमै राखेका छन्।पाकिस्तानले खेलको तेस्रो मिनेटमै अब्दुल रहमानको गोलबाट अग्रता लिएको थियो। तर दोस्रो क्वार्टरमा सुफियान खानले पहेँलो कार्ड पाएपछि वेल्सले त्यसको फाइदा उठायो। गारेथ फर्लङले पेनाल्टी कर्नरलाई गोलमा परिणत गर्दै बराबरी गरे भने त्यसको ३० सेकेन्डमै राइस ब्राडसले गोल गर्दै वेल्सलाई २–१ को अग्रता दिलाए।

चौथो क्वार्टरमा पहेँलो कार्डको सजाय पूरा गरेर फर्किएका सुफियान खानले पेनाल्टी कर्नरबाट गोल गर्दै पाकिस्तानलाई २–२ को बराबरीमा ल्याए। त्यसपछि हन्नान शाहिदको प्रहारमा डिफ्लेक्सन भएपछि पाकिस्तानले ३–२ को अग्रता बनायो।

तर अन्तिम समयमा वेल्सले पुनः खेलमा फर्किने अवसर पायो। गारेथ फर्लङले पेनाल्टी स्ट्रोकलाई शान्तपूर्वक गोलमा परिणत गर्दै व्यक्तिगत दोस्रो गोल गरे र खेल ३–३ को बराबरीमा टुंग्याए। यसअघि वेल्स भारतसँग ३–१ ले पराजित भएको थियो भने पाकिस्तानले इंग्ल्यान्डसँग ४–१ को हार बेहोरेको थियो। पूल ‘डी’ को आफ्नो अन्तिम खेलमा वेल्सले बुधबार विश्व वरीयताको तेस्रो स्थानमा रहेको इंग्ल्यान्डसँग खेल्नेछ।