बलिउड अभिनेता गोविन्दा हाल आफ्नो व्यक्तिगत जीवन र श्रीमती सुनिता आहुजासँगको बढ्दो विवादका कारण चर्चामा छन्।
यसैबिच, थाइल्याण्डको पटायास्थित एक क्लबमा गोविन्दा नाचिरहेको नयाँ भिडियो सार्वजनिक भएको छ। भारतको स्वतन्त्रता दिवसको एक कार्यक्रममा गोविन्दा ९० को दशकका चर्चित गीतहरूमा झुमिरहेको देखिएका हुन्। कालो र सेतो औपचारिक सुटमा सजिएका उनले त्यहाँ उपस्थित दर्शक र पृष्ठभूमि नर्तकहरूसँग आफ्ना सिग्नेचर डान्स स्टेप्स प्रस्तुत गरेका थिए। भाइरल भएको उक्त भिडियोमा गोविन्दा आफ्ना सुपरहिट फिल्मका गीत ‘सोनी दे नखरे’ र ‘सोने लगडे’ मा पूर्ण उत्साहका साथ नाचिरहेका छन्।
यो भिडियो यस्तो समयमा बाहिर आएको हो, जब गोविन्दा र सुनिताबिच सम्बन्धमा दरार आएको खबरहरू सार्वजनिक भइरहेका छन्। केही समयअघि मात्रै गोविन्दालाई मुम्बई विमानस्थलमा उनकी आगामी फिल्मकी डेब्यु अभिनेत्री कोमल रानी स्वर्णकरसँग देखिएको थियो। उनीहरूको भिडियो भाइरल भएपछि मिडियामा उनीहरूको अफेयरको चर्चा सुरु भएको थियो।
अभिनेत्रीसँगको भेटघाटबारे सुनिताले टिप्पणी गर्दै भनिन्, ‘गोविन्दा आफ्नी छोरीको उमेरकी केटीसँग घुमिरहेका छन्, उनलाई यसबाट लाज लाग्नुपर्छ।’ सुनिताले कोमलको ड्रेसिङ सेन्समाथि पनि प्रश्न उठाएकी थिइन्। उनले भनिन्, ‘यदि कसैको शुगर ड्याडी यति धनी छ भने, उसले कम्तीमा राम्रो लुगा लगाउनुपर्छ। मानिसले कसरी शैलीसँग बाँच्ने भनेर सिक्नुपर्छ।’ उनले यो सम्पूर्ण घटनालाई ‘धेरै नराम्रो र नीच विचारधारा’ भएको बताएकी थिइन्।
श्रीमतीको आपत्तिजनक टिप्पणीबाट गोविन्दा रिसाएका छन्। उनले सुनितालाई सीमाभित्र रहन चेतावनी दिएका छन्। साथै, उनले आफ्नी सह-कलाकारको बचाउ गर्दै सुनिताले उनलाई बदनाम गर्न कुनै कसर बाँकी नराखेको आरोप लगाए। यस विषयमा बोल्दै गोविन्दाले भने, ‘म बाहिरबाट आउने काम गर्दिन, तर तपाईं मेरो काममा हस्तक्षेप गर्दै हुनुहुन्छ। जब तपाईं आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो, चाहे त्यो कुकिङ शो होस् वा लकअप, तपाईंले नै टीनालाई मलाई बोलाउन भन्नुभएको थियो र मेरो सेवा प्रयोग गर्नुभएको थियो।’

प्रतिक्रिया