सुमन थापा
जेष्ठ २९- काठमाडौं, नेपाली काङ्ग्रेसको पदाधिकारी तथा पुर्व पदाधिकारी बैठक देउवा निवास बुढानिलकण्ठमा सुरु भएको छ ।

काङ्ग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो साढे २ बजे सुरु भएको पदाधिकारी तथा पुर्व पदाधिकारी बैठकमा सभापती शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, पुर्णबहादुर खडका , बिजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, अर्जुन नरसिंह के सि, कृष्णप्रसाद पौडेल, नारायण खडका, प्रकाशशरण महत्त, रामशरण महत्त, मिनेन्द्र रिजाल, र सुनिल बहादुर थापा सहभागी रहेका छन ।

आजको बैठकमा पार्टीको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

कांग्रेसले १४औँ महाधिवेशन अन्तर्गत आगामी असारदेखि विभिन्न तहका अधिवेशनको मिति तय गरिसकेको र अझै केही जिल्ला तथा क्षेत्रको क्रियाशील सदस्यता विवरण टुङ्गिनसकेको कारण बैठकमा सो बारेमा छलफल हुनेछ ।

कांग्रेसले १४औँ महाधिवेशनका लागि पार्टीको गाउँ÷नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते तोकेको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ ।